काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकी छन् ।


ADVERTISEMENT


परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारी म्यान्मारको राजकीय भ्रमण सम्पन्न गरी त्यहाँबाट टोकियो प्रस्थान गर्ने उल्लेख गरिएको छ । राष्ट्रपति भण्डारीले कात्तिक ५ गते मङ्गलबार आयोजना हुने शुभराज्याभिषेकको विशेष समारोहमा भाग लिनेछिन्। उक्त समारोहपछि उनी सम्राट नारुहितोले आयोजना गर्ने राजकीय भोजमा सरिक हुने कार्यक्रम तय भएको छ ।


ADVERTISEMENT

# # #


भ्रमणका अवधिमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द तथा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग भेटवार्ता गर्नेछिन् । राष्ट्रपति भण्डारीले जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आयोजना गर्ने स्वागत समारोहमा भाग लिनेछिन् । यसैगरी उनले जापानस्थित गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि भाग लिनेछिन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीका साथ गृहमन्त्री रामबहादुर थापा, राष्ट्रपतिका कार्यालय तथा परराष्ट्र मन्त्रालयका उच्चस्तरीय अधिकारीहरु रहनेछन् । राष्ट्रपति भण्डारी कात्तिक ६ गते बुधबार स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।रासस