राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापा टेनिस खेल्ने क्रममा घाइते भएका छन्।


ADVERTISEMENT


चीनको सेञ्जेन सहरमा आयोजित आइटिएफ सेञ्जेन इन्टरनेसनल सिनियर सर्किट २०१९ मा सहभागी थापा खेलको क्रममा घाइते भएका राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।


ADVERTISEMENT

# # #


स्वास्थ्यमा समस्या आएपछि खेल बीचमै छोड्नु परेको उनले बताए।

‘उहाँले राम्रो खेल खेल्दै हुनुहुन्थ्यो। पहिलो खेलमा ३-० ले जित्नु भयो। दोस्रो खेलमा पनि जितिरहनु भएको थियो तर खुट्टाको मसल स्ट्रेच भयो र खेल्न समस्या भयो,’ उनले भने, ‘घाइते भए पनि खेलिरहनु भएको थियो तर समस्या ढाडसम्म पुगेपछि भने उहाँले खेल्न छोड्नुभयो।’

अध्यक्ष थापाको अवस्था सामान्य रहेको र आराम गर्न डाक्टरले सुझाएको उनले बताए।

अध्यक्ष थापा उक्त खेलमा भाग लिन गत ८ गते चीन गएका थिए। उनी भोलि (बिहीबार) स्वदेश फर्कने कार्यक्रम छ।