सप्तरी । कोशी टप्पु वन्यजन्तु आरक्षको बँदेल मार्ने तयारी गर्दा सप्तरीको कञ्चनरुप नगरपालिका ५ पथरी टोलका एक युवक आफैं त्यसको शिकार भएका छन् ।


ADVERTISEMENT


बँदेललाई मार्न बनाइएको विद्युतको धरापमा परी एक जनाको मृत्यु भएको छ । पथरी टोलका २३ वर्षका अजयकुमार मुखियाको शव दुई सातापछि गाडिएको अवस्थामा फेला परेको छ ।


ADVERTISEMENT

# # #


उनको शव त्रियुगा खेलाको छेउमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

गाउँकै रमेश सरदार, श्रीलाल सरदारसहित ५ जनासँग गत कात्तिक १ गते साँझ बँदेल मार्न भनी हिँडेका मुखियाले सोही दिन आफैंले थापेको विद्युतीय धरापमा परी ज्यान गुमाएका थिए ।

कोशी टप्पु वन्यजन्तु आरक्षको बँदेललाई धपाएर विद्युतीय धराप थापिएको ठाउँसम्म ल्याएर मार्ने उनीहरुको योजना थियो । बँदेललाई धपाउने क्रममा अजयकुमारसहित दुई जनालाई करेन्ट लागेको थियो । एक जनालाई सामान्य करेन्ट लागेको थियो भने अजयलाई ठूलो झट्का लागेपछि उनको सोही ठाउँमा मृत्यु भएको थियो ।

मृत्यु भएका अजयको शवलाई उनीसँग गएका व्यक्तिहरुले नजिकै गाडेका थिए ।