काठमाडौं – सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्य र प्रमाणका आधारमा मुद्दा दायर गरेको बताएका छन् ।
बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीका प्रश्नको उत्तर दिँदै प्रवक्ता बाँस्कोटाले जग्गा अनियमितता प्रकरणमा सम्बन्धित व्यक्तिको जिम्मेवारी र भूमिका हेरेर कसुरलाई तीन तहमा विभाजन गरी मुद्दा दायर गरिएको बताए । उनले उक्त विषय अब अदालतमा पुगेको र अदालतको फैसला अनुसार नै सरकारले काम गर्ने बताए ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलका छोरालाई उन्मुक्ति दिएको तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई आरोपितका रुपमा मुद्दा दायर गरिएकोबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले तथ्य र प्रमाणको आधारमा नै मुद्दा दायर भएको बताए ।
उनले कसैप्रति आग्रह वा पूर्वाग्रहका आधारमा मुद्दा दायर नभएको प्रष्ट्याए । ‘भोलि हामी परेमा पनि जे प्रमाणित हुन्छ, त्यो व्यहोर्नुपर्छ,’ उनले भने, ‘प्रमाण स्वीकार्नुपर्छ, तथ्य स्वीकार्नुपर्छ ।’ मन्त्री बास्कोटाले अदालतले जे फैसला गर्छ सरकारले त्यही कार्यान्वयन गर्ने बताए ।
‘प्रक्रिया सुरु भयो अब अदालतमा गएको छ । अब अदालतले जे फैसला गर्छ त्यो नै अन्तिम फैसला हुन्छ ।’ उनले भने, ‘त्यो नै सरकारले कार्यान्वयन गर्ने हो । दोषी ठहरिनु भयो भने त के लाग्छ त बाबा ? हामी केही पनि गर्न त सक्दैनौं ।’
काँग्रेसले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भेदभावपूर्ण व्यवहार भएको भन्दै शुक्रबार प्रतिनिधिसभाको बैठक अवरोध गरेको थियो ।