काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल वायू सेवा निगम (नेपाल एयरलाइन्स)लाई निजीकरण गर्नेबारे सरकारले नसोचेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै प्रवक्ता बाँस्कोटाले निगमलाई निजिकरण भन्दा पनि क्षमता अभिवृद्धि र केही विमानस्थल सञ्चालन गर्न सरकार सक्षम विदेशी संस्थाहरूसित मिलेर काम गर्नका लागि सोचेको बताए ।


ADVERTISEMENT

# # #


‘अहिले हामीले नेपाल वायू सेवा निगमलाई निजीकरण गर्ने कुरा सोचिरहेका छैनौँ । यद्दपी केही नयाँ एयरपोर्टहरु हामी बनाएरहेका छौँ’ उनले भने, ‘त्यसैले हाम्रो क्षमता अभिवृद्धिको लागि कुनै एयरपोर्ट सञ्चालन गर्नका लागि हामी विदेशी सक्षम संस्थासँग काम गर्न इच्छ्क छौँ र तयार छौँ ।’ खासगरी भैरहवा एयरपोर्टका लागि जर्मनीको जुरीज कम्पनीसँग छलफल भइरहेको प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।

उनले सरकारले विभिन्न स्थानमा नयाँ विमानस्थलहरू बनाउनेदेखि स्तरोन्नति गरी क्षेत्रीय रूपमा अगाडि बढाउने काम भइहरेको पनि बताए । “हामी केही नयाँ एयरपोर्टहरू बनाइरहेका छौं । खासगरी भैरहवाको, पोखराको एयरपोर्ट, निजगढको हामी तयारी गरिरहेका छौं । कैयौं एयरपोर्टहरू स्तरोन्नति भएका छन् । कतिपयलाई क्षेत्रीय रूपमा अगाडि बढाउने गरी कामहरू भइरहेका छन्,” मन्त्री बास्कोटाले भने ।

नेपाल वायू सेवा निगमको नीतिगत, संरचनागत व्यवस्थापनका सन्दर्भमा सुधार गर्नुपर्ने दायित्वतर्फ सरकार अगाडि बढेको उनले जनाए ।