काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसको महामारी अस्थायी भएको बताएकी छिन्। शनिबार विज्ञप्ति जारी गर्दै उनले उक्त कुरा बताएकी हुन्।


ADVERTISEMENT


राजदूत होउले संक्रमण नियन्त्रणका लागि सरकारले वसन्त महोत्सवको बिदा लम्ब्याएको, कम्पनीहरु खुल्ने समय स्थगित गरेको, अन्तर्राष्ट्रिय सामूहिक भ्रमण रद्ध गरेको, ट्राफिक नियन्त्रण कार्यान्वयन गरेको, मानिसलाई घरबाहिर निस्कन र सामूहिक भेटमा निरुत्साहनजस्ता कडाइ अपनाएको बताइन्। यस्ता रोकथाम र नियन्त्रणबाट सकारात्मक परिवर्तन देखिन थालेको उनको भनाइ छ।


ADVERTISEMENT

# # #


उनले चिनियाँ सरकारले महामारी नियन्त्रण र देशको आर्थिक विकासलाई उत्तिकै उच्च प्राथमिकता दिएको उल्लेख गर्दै कडा रोकथाम र नियन्त्रण स्थिर विकासको आधारशीला भएको बताइन्।

राजदूत होउले महामारी फैलिएयता नेपाल सरकारले देखाएको साथ र सद्भावको पनि प्रशंसा गरिन्। उनले महामारीका कारण चीन र नेपालबीच भ्रमण आदानप्रदानमा असर परेका भन्दै यसले भिजिट नेपाल २०२० को लक्ष्य प्राप्तिमा पनि कठिनाइ हुनसक्ने बताइन्।

चीनको दीर्घकालीन आर्थिक विकास अपरिवर्तनीय रहेको उल्लेख गर्दै उनले चीन–नेपाल मैत्रीपूर्ण सम्बन्ध कायम रहने पनि बताइन्।