एजेन्सी – अफगानिस्तानमा १८ वर्षभन्दा बढी समयदेखि जारी सशस्त्र द्वन्द्व अन्त्यको संकेत देखिएको छ । अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच यही फेब्रुअरी २९ तारिखमा शान्ति सम्झौता गर्ने तयारी भएसँगै सकारात्मक संकेत देखा परेको हो ।


ADVERTISEMENT


त्यसअघि तालिवान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलबीच शनिबार मध्य रातीदेखि एक सातासम्मको युद्धविराम लागू भएसकेको छ । यो एक साताको बीचमा देखिने घटनाक्रमको आधारमा औपचारिक रुपमा शान्ति सम्झौता गरेर द्वन्द्व अन्त्य गर्ने सहमति भएको अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जावेद फैसलले बताएका छन् ।


ADVERTISEMENT

# # #


अफगानिस्तानको द्वन्द्व अन्त्यका लागि लामो समयदेखि अमेरिकाले पहल गर्दै आएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले पनि साउदी अरबको भ्रमणपछि अफगानिस्तानको हिंसा घटाउने सहमतिलाई सफल कार्यान्वयन गरिएसँगै अमेरिका–तालिवानी सम्झौतामा हस्ताक्षर गर्ने काम अघि बढ्ने अपेक्षा गरिएको बताउनुभएको छ ।

यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टोलटेनवर्गले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिका–तालिवान सहमतिको स्वागत गरेका छन् । उनले सहमतिले अफगानिस्तानको दीर्घकालीन शान्तिको सम्भावित मार्गलाई खुला गरेको उल्लेख गरेका छन् ।