काठमाडौं – उपप्रधान एवं रक्षा मन्त्री तथा कोरोना रोकथाम र नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोभिड १९ को महामारी नियन्त्रणमा सेनालाई प्रयोग गर्दा नागरिक सर्वोच्चता विपरित नहुने बताएका छन् । नागरिक सर्वोच्चतामा कुनै पनि सम्झौता नहुने उनले स्पष्ट पारे ।
महामारी नियन्त्रणमा सेनालाई निश्चित केही क्षेत्रमा मात्रै प्रयोग गरिएको उल्लेख गरे । उनले सेनालाई सबै जिम्मा लगाइयो भन्ने हल्लामात्रै भएको दावी गरे । सेनालाई स्वास्थ्य सामग्री खरीदको जिम्मा नदिइएको र तोकिएको समयमा नीजि क्षेत्रबाट आपूर्ति हुन नसके दुई सरकारबीच हुने सम्झौता जी टु जी मा समन्वय गर्नमात्र अख्तियारी दिइएको उनको भनाइ छ ।
स्वास्थ्य सामग्रीको अझै अभाव रहेकाले छिटोभन्दा छिटो ती सामग्री ल्याउने तयारीमा सरकार रहेको उनले बताए । महामारी फैलन नदिन सरकार सर्तक रहेको भन्दै पोखरेलले लकडाउनलाई गम्भीर भएर पालना गर्न आग्रह गरे ।