काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी एक महिलाको कोभिड–१९ सम्बन्धी विस्तृत परीक्षण भइरहेको जनाएको छ ।


ADVERTISEMENT


शनिबार नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षीय महिलाको थप परीक्षण भइरहेको र मृत्युको कारण बाहिर आइ नसकेको बताए । ती महिलाको बिहीबार राती मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


उनी वैशाख २३ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । २४ गते उनको ‘नर्मल डेलिभरी’ भएको प्रवक्ता डा. देवकोटाले जनाए । उनका अनुसार २५ गते डिस्चार्ज भएकी ती महिला त्यसपछि सिन्धुपाल्चोकस्थित आफ्नो घर गएकी थिइन् ।

घर गइसकेपछि ज्वरो, श्वास प्रश्वासमा समस्या लगायतका शारीरिक समस्या देखिएपछि उनले स्थानीय अस्पतालमा उपचार गराएकी थिइन् । स्थिति थप जटि बन्दै गएपछि उनी काभ्रेको धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको जानकारी प्राप्त भएको प्रवक्ता डा. देवकोटाले जनाए । यससम्बन्धमा मन्त्रालयले विस्तृत विवरण लिइरहेको उनले बताए ।

उनले भने, ‘उहाँको कोभिड–१९ संग सम्बन्धित थप परीक्षणहरु भइरहेका छन् । त्यसले गर्दा परीक्षणको सम्पूर्ण विवरण प्राप्त भइसकेपछि मात्रै मन्त्रालयले आधिकारिक रुपमा कोभिड–१९ सँगको सम्बन्धित मृत्यु हो वा होइन भन्ने कुर निर्क्योल गरेर प्रसारण गर्नेछ ।’