काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो अवस्थामा रहेका बेला कांग्रेस फुट्न, छुट्न वा विचारमा विभाजित हुन नहुने बताए ।

बुधबार कांग्रेसको महाधिवशेन अन्तर्गत बन्दसत्रमा सम्बोधन गर्दै नेता आङदेम्बेले एल्गोरिदम र सस्तो लोकप्रियताका भरमा आएका तत्वहरूले मुलुकलाई कुन बेला दुर्घटना वा युक्रेन जस्तै परिस्थितिमा पुर्याउँछन् भन्ने ठेगान नभएको भन्दै यस्तो अवस्थामा कांग्रेस फुट्न, छुट्न वा विचारमा विभाजित हुन नहुने बताए ।

उनले महाधिवेशनमा युवा प्रतिनिधिदेखि ८० वर्ष नाघेका ज्येष्ठ नागरिकहरूसम्मले देखाएको भरोसालाई आत्मसात गरेर अघि बढ्नुपर्ने उल्लेख गरे । केवल नेतृत्व वा अनुहार फेर्दैमा पार्टीको दिगो विकास नहुने भन्दै उनले नीति, सिद्धान्त, संस्थागत प्रणाली र क्रियाशीलतामा परिवर्तन ल्याउन सके कांग्रेसले युगौंसम्म देशलाई दिशा निर्देश गर्न सक्ने धारणा राखे ।

नेता आङदेम्बेले कांग्रेसलाई केवल सरकार बनाउने र सत्ता प्राप्त गर्ने माध्यम मात्र नबनाई मुलुकको समृद्धि, समुन्नति र परिवर्तनका सोचहरू कार्यान्वयन गर्ने सशक्त पार्टीका रूपमा विकास गर्नुपर्ने बताए ।
उनले पार्टीलाई सिङ्गो र एकढिक्का बनाएर लैजाने प्रयासलाई समर्थन गर्दै आफुले कुनै पनि पदमा उम्मेदवारी नदिएको स्पष्ट पारे । आफू पदमा नरहे पनि संसद र सडकमा कांग्रेसको बलियो र प्रखर आवाज बनेर निरन्तर उभिरहने उनको भनाइ छ ।