दमौली – स्थिर सरकारको माग गर्दै युवाहरुले आज तनहुँको दमौलीमा प्रदर्शन गरेका छन् । अहिले सरकार परिवर्तन गर्ने समय नभएकाले वर्तमान सरकारलाई नै कार्यकाल पूरा गर्न दिनुपर्ने मागसहित युवाहरुले दमौलीमा प्रदर्शन गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको समूह दमौली बजारका विभिन्न भागको परिक्रमा गर्दै मुख्यचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै युवाहरुले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने अहिलेको प्रमुख कार्यभार रहेकोमा जोड दिए ।

युवाहरुले शनिबार तनहुँको दमौलीमा निकालेको र्याली ।
युवा कविराज श्रेष्ठले पार्टी एक हुनुपर्ने, सरकार ढाल्न नहुने र बाहिरी चलखेल बन्द हुनुपर्ने मागसहित नेताहरुलाई दबाब दिन प्रदर्शन गरिएको जानकारी दिए। युवा विद्यार्थी नवीन वाग्लेले भारतले मिचेको जमिन फिर्ता ल्याउने कामको अगुवाइ गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको माग बेमौसमीको बाजा भएको बताए ।
पार्टी फुटाउने प्रयासलाई निस्तेज पारेरै छाड्ने बताउँदै वाग्लेले पार्टीलाई बलियो बनाउन युवाहरुको अभियान जारी रहने बताए।