ललितपुर – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले नेपालको अर्थतन्त्र बलियो बनाउन काम गर्न सहकारी क्षेत्रलाई आग्रह गरेकी छन्


ADVERTISEMENT


९८ औं अन्तराष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसका सन्दर्भमा आज शनिवार राष्ट्रिय सहकारी महासंघ लिमिटेडले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।


ADVERTISEMENT

# # #


अहिले अर्थतन्त्र निकै कमजोर अवस्थामा रहेको भन्दै मन्त्री अर्यालले त्यसलाई बलियो बनाउनका निम्ती सहकारी क्षेत्र बलियो आधार हुने बताइन् । ‘सहकारीसँग ठूलो पुँजी छ । त्यसलाई परिचालन गरेर हामीले रोजगारीमूलक क्षेत्रमा लगानी गर्न सक्छौ’, मन्त्री अर्यालले भनिन्, ‘अर्थतन्त्र डामाडोल अवस्थामा छ । हिजोसम्म सञ्चितीले काम गरिरहेको थियो । अब पुरै माइनसमा छ । यस्तो अवस्थामा सहकारीले मुलुकको अर्थतन्त्रमा योगदान दिनुपर्छ ।’

सहकारी क्षेत्रका सम्भावित वित्तीय जोखिमलाई नियन्त्रण गर्न अहिले नै सचेत हुनुपर्ने बताउदै सहकारीको संख्या अत्यधिक भएका कारण राज्यले मात्रै अनुगमन, नियमन गर्न कठिन रहेको बताइन् । स्वनियमनका कार्यलाई पनि अगाडी बढाउनुपर्ने आवश्यकता रहेको उनले बताइन् । सहकारी क्षेत्रप्रतिको आम जनताको विश्वास कायम राख्‍न अहिलेदेखि नै सचेत रहनुपर्ने उनको भनाइ थियो । त्यसका निम्ती केन्द्रीय सहकारी संघहरु बढी लाग्न मन्त्री अर्यालले आग्रह गर्नुरिन् ।

केही कानुनहरु संशोधन गरेर जानुपर्ने भएकाले आजको आवश्यकतालाई पुर्ती गर्नेगरी ऐन संशोधन गर्न अगाडी बढिरहँदा पनि टुंग्याउन नसकिएको मन्त्री अर्यालले बताइन् । नेकपाभित्र चलिरहेको समस्या समाधान गर्न कम्युनिष्ट पार्टी सक्षम रहेको मन्त्री अर्यालले बताएकी छन् । नेकपा पार्टीले झनै उचाइ लिँदै गएकाले अहिले नै कुनै दुर्घटना नहुने सङ्केत गरेकी थिइन् । मन्त्री अर्यालले भनिन्, ‘यो समस्याको समाधान गर्नका निम्ती कम्युनिष्ट पार्टी सक्षम छ, योग्य छ । विगतमा पनि यस्तो हुन्थ्यो । भएरै समाधान गर्दै, छलफल गर्दै यो उचाइमा आएको हो ।’

कम्युनिष्ट पार्टीले शिखर चुम्दै गएको भन्दै मन्त्री अर्यालले यसमा धेरै जनताहरुको त्याग, तपश्या, लगानी रहेको उल्लेख गरिन्। जनभावना मर्नेगरी फरक दिशामा नेकपा जान नसक्ने भन्दै उनले विश्वास दिलाइन्।

कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठकका एजेण्डा र चालु संसदको अधिवेशनबीचमा कुनै सम्बन्ध नरहेको समेत मन्त्री अर्यालले उल्लेख गरिन् । संसद अधिवेशन बोलाउने र बन्द गर्ने कुरा सरकारको कुरा भएको भन्दै उनले संसदको बिजनेश नभएका कारण चालु संसद अधिवेशन बन्द गरिएको प्रट्याइन् । मन्त्री अर्यालले भनिन्, ‘हामीले बजेट ल्याउनुपर्ने थियो । यस्तो महामारीमा पनि अधिवेशन बोलाउनुपर्‍यो बोलायौं । बजेट पास भयो । केही-केही विधेयकहरु थिए, त्यो विधेयकमाथी छलफल गर्नुपर्ने थियो । सहमति जुट्यो ।’

पार्टीभित्र नेताहरुका बीचमा छलफल, बहस, भनाभन हुने सामान्य कुरा भएको भन्दै उनले नेताहरु आपसमा बसेर निष्कर्श निकाले अगाडी बढ्ने विश्वास व्यक्त गरिन् ।

तस्विर स् देविका घर्ती मगर