सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ६ महिलासहित १५ जना कोरोना संक्रमित मंगलबार निको भएर घर फर्किएका छन् ।
दोस्रो पटकको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना नदेखिएपछि डिस्चार्ज गरिएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार डिस्चार्ज हुनेहरुमा ९ वर्षका बालकदेखि ५० वर्षसम्मका छन् । निको हुनेहरुमा झापाका १२, सुनसरी, दिक्तेल र महोत्तरीका एक/एक जना छन् ।
हाल आइसोलेसनमा १३ जना मात्र उपचाररत रहेका छन् ।
प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानबाट हालसम्म २ सय ५४ जना उपचार पश्चात निको भएर घर फर्किएका छन् । प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा हालसम्म ११ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण भइसकेको उनले बताए ।