काठमाडौं- स्थानीय तह दलविहिन स्वतन्त्र बनाउन माग गर्दै स्वतन्त्र गैरदलिया स्थानीय सरकार निर्माण अभियानले प्रधानमन्त्रीलाई बुधबार ज्ञापनपत्र बुझाएको छ ।

अभियानले तत्काल स्थानीय तह निर्वाचन ऐन संशोधन गरी दलीय मनोनयन हटाई सबैलाई स्वतन्त्र चिन्हमा मात्र उम्मेदवारी दिने व्यवस्था गर्न माग गरेको हो । अभियानका संयोजक तथा स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीसहितको टोलीले प्रधानमन्त्री कार्यालयमा पुगी ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा स्थानीय तह दलविहिन स्वतन्त्र बनाउनुपर्ने, स्थानीय तहको संख्या ७५३ बाट झारेर ३००भन्दा कम बनाइनुपर्ने, स्थानीय र प्रदेश निर्वाचन एकैपटक सम्पन्न गरी आर्थिक भार घटाइनुपर्ने माग समेत गरेको छ ।

यसअघि पत्रकार सम्मेलन गरी अभियानले सत्तारुढ रास्वपाले आफूले गरेको बाचा अनुसारको कार्य गर्न माग गरेको थियो । संयोजक दिनेश सुवेदीले रास्वाले चुनावी बाचामा स्थानीय तहमा स्वतन्त्र उम्मेदवार मात्र रहने व्यवस्था गर्ने उल्लेख गरेको स्मरण गराएका थिए । उनले जनतासामु करार पत्र नै गरी हस्ताक्षर गरेकोमा लागू नगरेकोमा धोका हुने भन्दै सतर्क गराए । उनले जनतालाई झुक्याउन नपाइने बताए ।

जाग नेपालीका संयोजक डा. दीपेश केसीले स्थानीय तहलाई गैरदलीय बनाउँछु भन्ने रास्वपा आफै बाचा तोडेर अगाडि बढ्नुमा टिकट विक्रीको उद्देश्य रहेको बताए । उनले टिकट लिलामीको तयारी चलिसकेको र रास्वपाका शक्तिशाली व्यक्तिहरुलाई किन्ने क्रम चलिसकेको सूचना आफूसँग रहेको बताए । उनले जनतालाई झुक्याएर बाचा नै तोडेमा अर्को विद्रोह हुने चेतावनी दिए । स्थानीय तह नघटाएर देश ठूलो आर्थिक संकटमा धकेलिने बताए ।

नेपाल फस्ट अभियानका अध्यक्ष डा. नन्द प्रसाद कार्पिले रास्वपाले जनतालाई ढाँट्न थालेको बताए । जनतालाई ढाँटेर विगतमा गरेको बाचा नै तोडेमा ठूलो धक्काको सामना गर्न तयार हुनुपर्ने बताए । स्वतन्त्र अभियन्ता डा. प्रकाश अधिकारी प्रधानमन्त्री बालेन्द्र साह राति ९ बजेपछि स्टाटस लेख्ने गरेर त्यत्तिकै रमाएको बताए । सामाजिक सञ्जालमा लाइक र कमेन्टकै भरमा सरकार मस्त रहेको र जनताले गरेको आशामाथि तुषारापात भइरहेको आरोप लगाए ।

राष्ट्रिय जेनजी नागरिक अभियानका सहसंयोजक अजय सोडारीले जेन्जीको भावना विपरितका कामहरु भइरहेको आरोप लगाए । उनले यस्तै अवस्था भइरहे अर्को विद्रोह गर्ने चेतावनी दिए । स्थानीय तह स्वतन्त्र गैरदलीय हुनुपर्ने र प्रदेश खारेज गर्नुपर्ने माग गरे । कार्यक्रममा स्वतन्त्र अभियन्ता राजमान मानव, अभियन्ता ताराकुमारी रिजाल, स्वतन्त्र महिला मञ्चकी अध्यक्ष सफलता बोगटीले बोलेका थिए ।