काठमाडौं – अटोमोबाइल क्षेत्रको कुम्भ मेलाको रुपमा प्रत्येक वर्ष हुँदै आइरहेको नाडा अटो शो स्थगित भएको छ । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले प्रत्येक वर्ष दशैं अगाडि प्राय भदौमा आयोजना गर्ने अटो शो कोरोना संक्रमणका कारण स्थगित गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


कोरोना संक्रमण फैंलिदै गएपछि सरकारले गरेको बन्दाबन्दीपछि चैतयता अटोमोबाइल व्यवसाय धरासयी छ । सवारी विक्रेता कम्पनीले बन्दाबन्दीपछि विभिन्न स्कीम र छूटसहित सवारी विक्री शुरु गरेकोमा संक्रमण बढ्दै गएपछि व्यवसाय पुनः ऋणात्मक हुँदै गएको नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले बताए । व्यवसायीहरुकाअनुसार गत वर्ष सरकारले अटोमोबाइलको खरीद र आपूर्तिमा कडाइ गरेपछि त्यसयता व्यवसाय धरासयी छ । बन्दाबन्दी सकिएपछि नाडा अटो शोले धरासयी व्यवसायलाई केही राहत दिने अपेक्षा व्यवसायीको भएपनि संक्रमण फैलिएपछि अटो शो स्थगित गर्नुपरेको दुलालले बताए । उनी भन्छन्, ‘धरासयी व्यवसायलाई अटो शोले केही राहत दिने आशा गरिएपनि अब सटर बन्द गरेर पलायन हुनुपर्ने अवस्थामा व्यवसायी पुगेका छन् ।’


ADVERTISEMENT

# # #


अटोमोबाइलको नेपालमा सबैभन्दा बढी कारोवार दशैं अगाडि हुने गरेको छ । प्रायले नाडामा सवारी बुक गरेर दशैंसम्म खरीद गर्ने गरेका छन् । प्रदर्शनीमा गत वर्ष ५ अर्बको आर्थिक कारोवार भएकोमा यस वर्ष त्योभन्दा बढी कारोवार गर्ने लक्ष्य नाडाको थियो । अटोमोबाइल क्षेत्रको उक्त आम्दानी यस वर्ष कोरोना संक्रमणका कारण गुम्न पुगेको छ । कोरोना बढ्दैका कारण हाललाई अटो शो स्थगित गरेपनि अवस्था सामान्य भएमा फागुनमा अटो शो गर्ने तयारी गरिरहेको दुलालले बताए ।