काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई कारबाही गर्न आग्रह गरेको छ ।


ADVERTISEMENT


आपूर्ति मन्त्री शिवकुमार मण्डललाई आज एक ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय स्रोत तथा साधनको दुरुपयोग गरेका खड्कालाई तत्काल कारबाही गर्न माग गरेको हो ।


ADVERTISEMENT

# # #


चलनचल्तीको मूल्यभन्दा बढी मूल्य तिरेर निगमका लागि जग्गा खरिद गरेको र प्रचलित मूल्य र मान्यताविपरीत गएर काम गरेको भन्दै कारबाहीको माग गरिएको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै आपूर्ति मन्त्री मण्डलले खड्काको सम्बन्धमा छानबिन भइरहेको र केही दिनभित्रै कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताए ।

संसदीय समितिको छानबिन, अध्ययन तथा मन्त्रालय आफैको अध्ययन अन्तिम चरणमा पुगेको जानकारी दिँदै आपूर्ति मन्त्री मण्डलले दोषी देखिएका जो कोहीमाथि पनि कानूनी कारबाही हुने बताए ।

उनले भने, “खड्काको विषयमा छानबिन भइरहेको छ । मन्त्रालय दोषी उम्काउने पक्षमा छैन । कारबाही हुन्छ ।” संसद्को अर्थ समिति, लेखा समिति, सुशासन समिति र उपभोक्ताहित संरक्षण समितिले समेत खड्कालाई कारबाही गर्न निर्देशन दिइसकेको छ ।

संसदीय समितिको निर्देशन, नागरिक तहबाट चर्को दबाब परे पनि खड्कालाई कारबाही नभएकामा सरकार र मन्त्रालयप्रति समेत आक्रोश बढेकाले कारबाहीका लागि दबाब सिर्जना गर्न लागिएको वाइसिएलका अध्यक्ष सापकोटाले जानकारी दिए ।