काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बिहीबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न सभाले शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

पारित प्रस्तावअनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ६.५२६३ प्रतिशत अर्थात् २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा नगद लाभांश वितरण गर्नेछ। यसमा करसमेत समावेश छ। यस्तै, चुक्ता पुँजीको ४ प्रतिशत अर्थात् १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्तावसमेत पारित भएको बैंकले जनाएको छ।

बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५ रुपैयाँ ७५ पैसा पुग्नेछ।

साधारण सभाले आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति पनि निर्विरोध चयन गरेको छ। संस्थापक शेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्यामकुमार शर्मा तथा सर्वसाधारण शेयरधनीका तर्फबाट विष्णुप्रसाद ढकाल, कृष्णप्रसाद रेग्मी र भावना अग्रवाल सञ्चालकमा चयन भएका छन्।

नवनिर्वाचित सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन तथा मर्जर र प्राप्तिसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरेको छ।

बैंकले हाल देशभर १०९ वटा शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा दिइरहेको जनाएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकता दिँदै आगामी दिनमा बैंकिङ सेवा थप विस्तार गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।