काठमाडौँ – अनौपचारिक विभाजन पछि प्रचण्ड–नेपाल समूहको नेकपाका अध्यक्ष बनेका माधव कुमार नेपाललाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले चौतारीमा बसेर कोही अध्यक्ष हुन नसक्ने बताएका छन् ।
सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाङमा आयोजित वृहत आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी छाडेर चौतारीमा बसेर आफूलाई अध्यक्ष घोषणा गरेकाले निर्वाचन आयोगले खत्तम पार्दिको टिप्पणी गरे । उनले भने, ‘केही मान्छेहरु पार्टी छाडेर, बैठकमा नआएर, चौतारीमा बसेर म अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिंडेका छन् । त्यो पनि हिजो निर्वाचन आयोगले खत्तम पार्दियो, अध्यक्ष कोही भएका छैनौ भनेर ।’
नेपाल दुई ठाउँबाट होरेर पनि जस्केलाबाट प्रधानमन्त्री भएको स्मरण गर्दै उनले केपी ओलीले निर्वाचन गराउँदैन भन्नेहरुका पछि नपर्न आग्रह गरे । उनले भने, ‘म त्यो बाटोतर्फ हिंड्दिनँ । अध्यक्षमा हारेपनि मैँलाई अध्यक्ष चाहियो भनेर क्यान क्यान गर्ने केटाकेटी जस्तो गरेको छु मैँले ?’
उनले प्रचण्ड–नेपाल समूहद्वारा आफूलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको कुरालाई हास्यास्पदका रुपमा अर्थ्याए । उनले भने ‘दुई चारजना मान्छे पार्टीको बैठकमा नआएर, विभिन्न रेस्टुराँ र बैंक्वेटमा बसेर केपी ओलीलाई पार्टीबाट, साधारणसभाबाट पनि निकाले रे । हाँस्न मन लागेन तपाईंहरुलाई यो कुरा सुन्दा ?’ प्रचण्ड–नेपाल समूह आफू बिरामी हुँदा गद्गद् हुने गरेको र भरसक केपी ओली यो पृथ्वीमै नरहे हुन्थ्यो सोच्ने गरेको उनले बताए । उनले भने, ‘तर, उनीहरुले भनेर हुनेवाला त होइन ?’
उनले सरकारका हरेक पाइलामा अवरोध खडा गरेपछि त्यस्ता तत्वहरुलाई जनतामार्फत दण्डित गराउन ताजा जनादेशमा पुगेको बताए ।