झापा– सुरङ्गा गाउँमा बढ्दो दुर्व्यसनीका कारण लागुऔषध नियन्त्रणमा समस्या पर्न थालेको छ । नेपाल लागुऔषध पुनःस्थापना सङ्घका केन्द्रीय अध्यक्ष राजु गिरीका अनुसार, पछिल्लो समय लागुऔषध सेवनले छोराछोरी बिग्रिए भन्दै सुधार केन्द्र धाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो रहेको छ ।


ADVERTISEMENT


पछिल्लो समय मुख्यतयाः १७ देखि २५ वर्ष का युवा कुलतमा फस्ने गरेको पाइएको बताउँदै उनले समयमै सबै सचेत नहुने हो भने लागुऔषध कुलतले झापामा मात्र नभई देशभर नै भयावह स्थिति निम्तिनेप्रति उनले सचेत समेत गराएका छन् ।


ADVERTISEMENT

# # #


पन्ध्रवटा स्थानीय तह रहेको सुरुङ्गामा लागुऔषध प्रयोगकर्तालाई सुधारका लागि राख्ने १८ वटा पुनःस्थापना केन्द्र छन् । आठ नगरपालिकासहित १५ स्थानीय तहमध्ये सबैभन्दा बढी पाँच वटा पुनःस्थापना केन्द्र बिर्तामोड नगरपालिकामा छन् । एउटा सुधार केन्द्रमा कम्तीमा ३० जनालाई राखिएको छ । यद्यपि यहाँ महिला दूव्र्यसनीलाई राख्ने छुट्टै पुनःस्थापना केन्द्र भने छैनन् ।

जिल्ला प्रहरी कार्यालय, झापाको पछिल्लो तथ्याङ्कअनुसार लागुऔषध सेवन तथा कारोवारमा संलग्न भएको आरोपमा गत वर्ष २०७६ को पुस ९ गतेदेखि २०७७ को पुस ९ गतेसम्म एक वर्षको अवधिमा मात्रै ११ महिला र २३६ पुरुष पक्राउ परेका छन् । लागुऔषधका १ सय ३२ वटा मुद्दा दर्तामा सो लागुऔषधसंग सम्बन्धित सो व्यक्तिहरु पक्राउ परेका हुन् । एक वर्षको उक्त तथ्याङ्कलाई आधार मान्दा अन्यको तुलनामा ब्राउनसुगरको कारोवार अधिक हुने गरेको देखिन्छ ।

प्रहरीले यो अवधिमा मात्रै एक हजार ५ सय १२ ग्राम १ सय ८५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । ब्राउन सुगरपछि सबैभन्दा धेरै पक्राउ पर्नेमा अर्काे लागुऔषध अफिम रहेको छ । यसवर्ष मात्रै प्रहरीले एक केजी ५०० ग्राम अफिम मात्रै बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए ।

चालू आर्थिक वर्षको पनि गत पुस महिनायता मात्रै जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ब्राउनसुगरसहित अफिम, सिम्पलेक्स, गाँजा, नाइट्रोजन, हाइड्रोक्लोराइड, लुपिजेसिक, डाइजापाम, फेनारगनलगायतका लागुऔषध बरामद गरेको छ ।

भारतको पश्चिम बङ्गाल र विहार राज्यसँग १ सय ४४ किलोमिटर खुला सिमाना जोडिएको झापामा लागुऔषध भित्र्याउन सहज छ । यसैको फाइदा उठाउँदै भारतीय सीमावर्ती बजार गलगलीया, पानीट्याङ्की, नक्सलवाडी, दिघलबैंक, खोरीबारी जस्ता ठाउँबाट खरीद गरिएको लागुऔषध कारोवारीले सहजै नेपाल भित्र्याउँने गरेको पाइएको छ।

पूर्वी नाका काँकरभिट्टासहित भद्रपुर, सतीघट्टा, टाघनडुब्बा, गौरीगञ्ज जस्ता ठाउँमा प्रहरी चेकपोष्ट राखिए पनि कोरोवारीले प्रहरीको आँखा छल्दै ससाना गल्ली र चोर बाटोबाट सहजै लागुऔषध नेपाल भित्रिने गरेको बताइएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले प्रहरीसँग सहकार्य गर्दै अहिले झापाका विभिन्न स्थानबाट लागुऔषधसहित स्वदेशी र विदेशी नागरिक धमाधम पक्राउ गर्न प्रहरीले जति सक्रियता बढाए पनि लागुऔषधको कारोवार भने घटेको देखिँदैन ।

लागुऔषध नियन्त्रणका लागि प्रहरीले समुदायस्तरमा प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्नखाले चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । अझ विद्यालयस्तरमा पुगेर प्रहरीले कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गर्दै झापाका सबैजसो विद्यालयमा लागुऔषध दुव्र्यसनविरुद्धका कार्यक्रम सञ्चालन गरे पनि लागुऔषधको अवैध कारोवार भने अझै रोकिएको छैन । पक्राउ पर्नेमा कतिपय लागुऔषध कारोवारी विद्यार्थी नै हुने गरेको पाइएको छ ।

कोभिड– १९ का कारण नेपाल भारत दुई देशबीच अझै पनि सीमानाका बन्द छ । यद्यपि लागुऔषधसहित दिनहुँ मानिस पक्राउ पर्नुले सीमानाका बन्द भए पनि लागुऔषध ओसारपसारमा कुनै कमी नआएको सहजै अनुमान गर्न सकिन्छ । झापामा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो समय लागुऔषध नियन्त्रणमा उच्च सतर्कता अपनाउन थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहतमा सबै प्रहरी युनिटलाई जाँचमा कडाइ गर्दै लागुऔषध नियन्त्रणका लागि विशेष ध्यान दिन निर्देशन दिइएको बताउँदै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले भने; ‘समाजमा शान्ति सुव्यवस्था कायम राख्नका लागि पनि मेरो पहिलो प्राथमिकता भनेकै झापामा लागुऔषध नियन्त्रणका क्षेत्रमा काम गर्नु हो ।’

विशेष गरी पूर्वीनाका काँकरभिट्टामा लागुऔषध नियन्त्रणकै क्षेत्रमा काम गर्न लागुऔषध नियन्त्रण ब्युरो छ । तर, ब्युरोले उपकरण नहुँदा अहिलेसम्म छामछुमकै भरमा काम गर्दै आएको पाइएको छ । ब्युरोका प्रमुख किशोर श्रेष्ठले लागुऔषध नियन्त्रणका लागि आफूहरुले काम गर्दा हुलिया, हाउभाउ, पहिरन, हिँडाइ र सुराकीको आधारमा छामछुम गर्दै जाँच गर्दा लागुऔषध फेला पार्ने गरेको बताए ।

लागुऔषध छ या छैन भन्ने कुरा पत्ता लगाउने कुनै उपकरण नहुनु र ब्युरोमा महिला प्रहरीसमेत नहुँदा जाँचमा समस्या हुने गरेको उनको भनाइ छ । श्रेष्ठले कोही महिलामाथि शङ्का लागे सशस्त्र र नेपाल प्रहरीका महिला प्रहरीसँग सहकार्य गर्नुपर्ने स्थिति रहेको प्रस्ट पारे ।

प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार झापामा लागुऔषध कारोवारमा संलग्न महिलाको तुलनामा पुरुष धेरै रहेका छन् । लागुऔषध मुद्दामा पक्राउ परेका मानिसलाई आधार मान्दा ९८ प्रतिशत कारोवारी पुरुष नै र त्यसमा पनि युवा उमेर समूहका धेरै हुने गरेका छन् । अझ जिल्ला कारागार झापाको तथ्याङ्क हेर्ने हो भने लागुऔषध प्रयोगकर्ताको अवस्था झापामा भयावह छ ।

जिल्ला कारागार झापामा भएका एक हजार १ सय ९६ कैदीबन्दीमध्ये जबर्जस्ती करणीपछि लागुऔषध मुद्दाकै धेरै कैदीबन्दी छन् । कारागारको तथ्याङ्कअनुसार लागुऔषध मुद्दामा १७ महिला स्वदेशी कैदीबन्दी र एक जना विदेशी महिला कैदीबन्दी रहेको जिल्ला कारागार झापाले जनाएको छ ।

यता लागुऔषध मुद्दामा २ सय ८३ जना स्वदेशी पुरुष कैदीबन्दी रहेका छन् । यीमध्ये १ सय २५ कैदी र १ सय ५८ थुनुवा छन् । लागुऔषध कारोवारमा २१ विदेशी पुरुषसमेत झापा कारागारमा रहेका छन् । यीमध्ये ११ कैदी १० थुनुवा छन् । यसरी झापा कारागारमा एक विदेशीसहित १८ जना महिला र २१ विदेशीसहित ३ सय ४ जना पुरुष कैदीबन्दी रहेका छन् ।

झापामा दिन प्रतिदिन लागुऔषधको कारोवार बढ्दै जानु र कुलतमा फस्नेको सङ्ख्या पनि थपिँदै जाँदासमेत स्थानीय तहले लागुऔषध नियन्त्रणका क्षेत्रमा काम गर्न सकेका छैनन् । पूर्वाधार विकासलाई नै पहिलो प्राथमिकतामा राखेका झापाका पालिकाले आफ्नो क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि अहिलेसम्म एउटा पनि कार्यक्रम सञ्चालन गर्न नसकेको सरोकारवालाले बताउँदै आएका छन् । झापामा भएका सबै सुधार केन्द्र निजीस्तरबाट सञ्चालनमा रहेका नेपाल लागुऔषध पुनःस्थापना सङ्घका केन्द्रीय अध्यक्ष गिरीले जानकारी दिए ।

खुला सिमाना, लागुऔषध परीक्षणका लागि कुनै उपकरण नहुनु, लागुऔषध नियन्त्रण ब्युरोसँग सीमित जनशक्ति हुनुले झापामा लागुऔषध नियन्त्रण गर्न प्रहरीलाई सकस भएको छ । रासस