भोजपुर– अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत भोजपुरका नौओटा स्थानीय तहमा गर्भवतीका लागि मोबाइल स्वास्थ्य शुभकामना कार्यक्रम शुरु गरिने भएको छ । करुणा फाउण्डेशन नेपाल, प्रदेश सरकार र स्थानीय तहको सहकार्य तथा मेडिक मोबाइलको प्राविधिक सहयोगमा ‘मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य शुभकामना कार्यक्रम सञ्चालन गरिन लागेको हो ।


ADVERTISEMENT


कार्यक्रम सञ्चालनका लागि गर्भवतीसमक्ष जानकारी प्रदान गर्न मोबाइल सफ्टवेयर सञ्चालनसम्बन्धी स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षक–प्रशिक्षण कार्यक्रम पनि शुरु भएको छ । प्रत्येक पालिकाका लागि छुट्टाछुट्टै सञ्चालन हुने प्रशिक्षणअन्तर्गत पहिलो चरणमा पौवादुङ्मा गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई तीनदिने तालीम दिइएको छ ।


ADVERTISEMENT

# # #


तालीममा मोबाइल प्रविधिको प्रयोगका बारेमा स्वास्थ्यकर्मीलाई प्रशिक्षण गराइएको फाउण्डेशनको जिल्ला कार्यक्रम प्रमुख राजेन्द्र पराजुलीले जानकारी दिए । स्वास्थ्यकर्मीहरुले प्रशिक्षणपश्चात् आफ्नो वडाभित्र भएका स्वयम्सेविकालाई मोबाइल प्रविधिसम्बन्धी अभिमुखीकरण गराउने छन् ।

अभिमुखीकरणपछि स्वयम्सेविकाहरुले आफ्नो टोल तथा समुदायमा गर्भवती भएका महिलालाई मोबाइल प्रविधिमा दर्ता गराउने र दर्ता भएपश्चात् गर्भावस्थामा लिनुपर्ने सेवा, सुत्केरी अवस्थाका बारेमा सुनिश्चित गराउने र गर्भ अवस्थामा देखिने खतराका लक्षणहरुका विषयमा सम्झना सन्देशमार्फत जानकारी गराउने फाउण्डेशनको १ नं प्रदेशका वरिष्ठ कार्यक्रम अधिकृत मजबुल आलमले जनाए । अपाङ्गता रोकथाम पुनःस्थापना कार्यक्रमले जन्मजात तथा जन्मपश्चात् हुने अपाङ्गता न्यूनीकरण गर्ने मातृशिशु मृत्युदर न्यूनीकरण गर्ने र अपाङ्गता भएका व्यक्तिहरुसहितको समावेशी समाजको निर्माण गर्न सहयोग पुग्ने १ नं प्रदेशका वरिष्ठ कार्यक्रम अधिकृत आलमको भनाई छ । रासस