लण्डन  – क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रो पटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन्।


ADVERTISEMENT


सोमबार राति लन्डनमा भएको भव्य समारोहमा स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर रोनाल्डोलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरेको हो। यो सँगै रोनाल्डोले पाँचौ पटक अवार्ड जितेर लिओनल मेसीको कीर्तिमानसँग बराबरी गरेका छन्।


ADVERTISEMENT

# # #


रोनाल्डोले अन्तिम मनोनयनमा रहेका मेसी र नेइमारलाई पछि पार्दै उपाधिमाथि कब्जा जमाएका हुन्। गत सिजन रियल म्याड्रिडले ला लिगा तथा च्याम्पियन्स लिग जित्दा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए। रियल म्याड्रिडले फिफा क्लब विश्वकप २०१६ को उपाधि जितेको थियो। जापानिज क्लब कासिमा एन्टलर्सविरुद्धको फाइनलमा रोनाल्डोले ह्याट्रिक गरेका थिए। उनले प्रतियोगिताको उत्कृष्ट खेलाडीको अवार्ड समेत जितेका थिए।

रियलले ५ वर्षपछि गत सिजन ला लिगाको उपाधि जित्दा रोनाल्डोको भूमिका महत्वपूर्ण रह्यो। ३२ वर्षीय फरवार्ड रोनाल्डोले लिगमा २५ गोल गरेका थिए। उनले लिगका अन्तिम पाँच खेलमा पाँच गोल गरेपछि रियलले ३३औं ला लिगाको उपाधि जितेको थियो।

गत सिजनको युरोपियन च्याम्पियन्स लिग रियलले जित्नुमा पनि रोनाल्डोकै योगदान रह्यो। रोनाल्डोले गत सिजनको च्याम्पियन्स लिगमा १२ गोल गरे। उनले युभेन्ट्सविरुद्धको फाइनलमा २ गोल गरेका थिए। रोनाल्डोले गत सिजन च्याम्पियन्स लिगमा सय गोल पूरा गरेर इतिहास समेत रचेका थिए। रोनाल्डोले रियलका लागि चौथो पटक च्याम्पियन्स लिगको ट्रफि उचाले।