काठमाडौँ – पछिल्लो समय अफगानिस्तानमा विकसित राजनीतिक अवस्थाबारे पाँच पूर्व नेपाली राजदूतले चिन्ता व्यक्त गरेका छन् ।
मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै रुसका लागि पूर्व नेपाली राजदूत हिरण्यलाल श्रेष्ठ, भारतका लागि पूर्व राजदूतद्वय दीप कुमार उपाध्याय र दुर्गेश मान सिंह, अमेरिका र बेलायतका लागि पूर्व राजदूत सुरेश चालिसे र चीनका लागि पूर्व राजदूत महेश मास्केले अफगानिस्तानमा विद्रोही समूह तालिवानको राजनीतिक अग्रसरता सार्क राष्ट्रका लागि चासो र चिन्ताको विषय भएको बताएका हुन् ।
अफगानिस्तानमा विकसित स्थितिले सार्क क्षेत्रको सामाजिक, आर्थिक, आप्रवासन र सुरक्षा मामलामा दूरगामी असर पर्ने उनीहरुको बुझाई छ । यद्दपी तालिवानले आमामाफी दिने र महिलालाई आफ्ना का गर्न दिने भने पनि विगतको उनीहरुको व्यवहारले संशय पैदा गरेको पूर्व राजदूतहरुले बताएका छन् ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘उनीहरु (तालिवान)ले मान्यता पाउनका लागि अन्तर्राष्ट्रिय समुदायमा गरेको अपील सत्तामा रहँदाको उनीहरुकै व्यवहार र वर्तमानमा देश छाड्न चाहने नागरिकमाथिको दुर्व्यवहारले गर्दा संशयको घेरभित्र छ ।’
पूर्व राजदूतहरुले सार्क राष्ट्रको अध्यक्षका हैसियतले महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै अफगानिस्तानको राजनीतिक घटनाक्रमले उत्पन्न चुनौतिलाई सम्बोधन गर्न सरोकारवाला देशसँग तत्काल वार्ताका लागि आवश्यक पहल गर्न माग गरेका छन् ।