काठमाडौं – मंगलबार पनि सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । नेप्से परिसूचक ४.१२ अंकले बढेर २ हजार ५९९ अंकमा पुगेको हो ।
यसअघि अघिल्लो कारोबार दिन पनि नेप्से ४ अंकले बढेको थियो । लगातार दोस्रो दिन बजार बढ्दा कारोबार रकममा समेत सुधार आएको छ । सोमबार ४ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएकामा मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ ।
यद्यपि, बजारमा मूल्य घट्ने कम्पनीको संख्या बढ्ने कम्पनीको तुलनामा बढी देखिएको छ । मंगलबार १०४ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत परिसूचकतर्फ जीवन बीमा क्षेत्रमा सबैभन्दा बढी आकर्षण देखिएको छ । जीवन बीमा समूह १.७७ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ समूह ०.६९ प्रतिशतले बढ्दै पछिल्लो ६ महिनाकै उच्च विन्दुमा पुगेको छ ।
विकास बैंक समूह ०.०५ प्रतिशत, लगानी समूह ०.१३ प्रतिशत र निर्जीवन बीमा समूह ०.५३ प्रतिशतले बढेका छन् । अन्य समूहमा भने गिरावट देखिएको छ । फाइनान्स ०.३१ प्रतिशत, होटल तथा पर्यटन ०.५८ प्रतिशत, जलविद्युत् ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४० प्रतिशत, लघुवित्त ०.०९ प्रतिशत, अन्य समूह ०.५२ प्रतिशत र व्यापार समूह ०.४० प्रतिशतले घटेका छन् ।
कम्पनीगत रूपमा सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य सबैभन्दा बढी १२.४४ प्रतिशतले बढेको छ । ओरियन्टल होटल्सको ३.७४ प्रतिशत, सन नेपाल लाइफ इन्स्योरेन्सको ३.१७ प्रतिशत, भगवती हाइड्रोपावरको ३.१३ प्रतिशत र घलेम्दी हाइड्रोपावरको ३.१२ प्रतिशतले मूल्य बढेको छ ।
यसको विपरीत स्नो रिभर्सको सेयर मूल्य १५ प्रतिशतले घटेको छ । धौलागिरि लघुवित्तको १२.८७ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावरको ४.६५ प्रतिशत र सिटी होटलको ३.६५ प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, कुमारी बैंक, रिलायन्स स्पिनिङ मिल्स, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक र सिटी होटल अग्रस्थानमा रहेका छन् ।
समग्रमा नेप्सेमा सामान्य वृद्धि र कारोबार रकममा सुधार देखिए पनि अधिकांश कम्पनीको सेयर मूल्य घटेकाले बजारमा मिश्रित अवस्था देखिएको छ ।



























