काठमाण्डौं- १८ दिन अगाडिसम्म राजपाको एउटै कमिटीमा रहेका महेन्द्र राय यादव र जंगीलाल राय आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका छन् । महेन्द्र राजपा अध्यक्षमण्डलका नेता हुन् भने जंगीलाल महासचिव । अहिले महेन्द्र राजपाबाटै सर्लाही २ मा उम्मेदवार छन् भने जंगीलाल कांग्रेसबाट चुनाव लड्दैछन् । ‘हामी दुईबीचको सम्बन्ध राजनीतिक मात्रै हो, व्यक्तिगत होइन,’ बिहीबार सर्लाहीको हरिपूर्वा नगरपालिका–३ पुगेका जंगीलालले टेलिफोनमा भने, ‘राजनीतिमा यो सँग चुनाव लड्ने, यो सँग नलड्ने भन्ने हुँदैन । जो अगाडि आउँछ, उसैसँग प्रतिस्पर्धा हुन्छ । अहिले महेन्द्रजीसँग हुँदै छ ।’
जंगीलालले कात्तिक ६ गते कांग्रेस प्रवेश गरेर टिकट लिएका हुन् । हुन त यी दुई नेता सात महिना मात्रै (वैशाखयता मात्रै) एउटै पार्टीमा रहे । त्यसअगाडि महेन्द्र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष थिए भने जंगीलाल महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री ।
०७० को दोस्रो संविधानसभा निर्वाचनमा महेन्द्र सर्लाही ४ बाट र जंगीलाल ५ बाट निर्वाचित भएका थिए । क्षेत्र निर्धारण गर्दा सर्लाहीमा चारवटा मात्रै निर्वाचन क्षेत्र भएपछि यी दुई नेता एकै ठाउँबाट प्रतिस्पर्धामा उत्रेका हुन् ।


ADVERTISEMENT


महेन्द्र र जंगीलाल मात्रै होइन, अन्य केही नेता पनि विगतका आफ्नै सहकर्मीसँग चुनाव लड्दै छन् । यस्तैमा पर्छन्मो-हनसिंह राठौर र झपटबहादुर रावल । उनीहरू दुवै कैलाली २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । राठौर कांग्रेसको रुख चिह्नमा र रावल एमालेको सूर्य चिह्न लिएर मैदानमा छन् । यी दुई नेता उम्मेदवारी मनोनयन (कात्तिक १६) को दुई दिन अगाडिसम्म एउटै पार्टी एमालेमा थिए । ०५६ र ०७० को निर्वाचनमा एमालेबाट कैलाली २ मा जितेका राठौरलाई यसपटक पार्टीले टिकट नदिने निर्णय गरेपछि कांग्रेस प्रवेश गरेर उम्मेदवार बनेका हुन् । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कैलालीका ६ वटा निर्वाचन क्षेत्रमध्ये कैलाली २ मा मात्रै एमालेले जितेको थियो ।


ADVERTISEMENT

# # #


अझ रोचक पक्ष त राठौर र रावलबीच २०६३ सालमा मन्त्री र पिएको सम्बन्ध थियो । राठौर ०६२-०६३ को आन्दोलनपछि अन्तरिमकालको मन्त्रिपरिषद्का शिक्षा राज्यमन्त्री थिए भने झपट उनका पिए । झपट भीम रावल उपप्रधान तथा गृहमन्त्री हुँदासमेत पिए नै थिए ।
गोरखा २ मा पनि विगतका आफ्नै सहकर्मी अहिले चुनावी प्रतिस्पर्धामा छन् । त्यहाँको चुनावी प्रतिस्पर्धामा रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लामो समयसम्म माओवादीमा एकै हैसियतमा कार्यरत थिए । ०६५ सालदेखि यी दुई नेता माओवादीको उपाध्यक्ष थिए । तर, दुई वर्षअगाडि डा. भट्टराईले माओवादी छोडेर नयाँ शक्ति पार्टी गठन गरेका थिए ।

डा. भट्टराई आफ्नै पार्टीको चुनाव चिह्न आँखा लिएर मैदानमा छन् भने श्रेष्ठ गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव लड्दै छन् । भट्टराईलाई कांग्रेको र श्रेष्ठलाई एमालेको साथ छ । सल्यान र सप्तरीमा पनि माओवादी र राजपाका नेताहरूले आफ्नै विगतका सहकर्मीसँग प्रतिस्पर्धा गर्दै छन् । सल्यानमा विनाविभागीय मन्त्रीसमेत रहेका माओवादी नेता टेकबहादुर बस्नेतसँग स्वतन्त्रबाट आफ्नै सहकर्मी उमाकान्त शर्मा तथा सप्तरीको २ को प्रदेशसभा २ मा राजपा महामन्त्री मनीष सुमनसँग क्षेत्रीय सभापति लक्ष्मण यादव स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धा गर्दै छन् । – आजको अन्नपूर्णबाट