काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीका विषयमा २०७२ सालमा नै रक्षामन्त्रीको हैसियतले तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले पत्र लेखेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रम समापन गर्दै अध्यक्ष ओलीले २०७२ साल असोज ६ गते संविधान जारी भएको ३ दिनपछि, आफू सरकारबाट हट्ने तय भइसकेपछि तत्कालीन प्रधानमन्त्री स्व. कोईरालाले एसपीपीमा पक्ष हुन पाओस् भनेर अमेरिकालाई आग्रह गर्ने निर्णय गरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


ओलीले आफू प्रधानमन्त्री भएको १५ दिनपछि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतावासलाई पत्र लेखेको र आफूलाई जानकारी नदिइएको उल्लेख गरे । सामान्यतयाः दुतावासलाई प्रधानसेनापतिले त्यसरी पत्र लेख्ने प्रचलन नरहेको र यो रक्षा वा परराष्ट्रमन्त्रालयको काम भएको उनले बताए ।

त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला फेरि पत्र लेखिएको उनले दाबी गरे । ओलीले आफ्नो सरकारका बेला सैन्य गठबन्धनमा सामेल नहुने भन्दै च्याप्टर क्लोज भएको जिकिर गरे । अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले सेनाको क्याम्प बनाउने गरी बनाएको ड्राफ्टका बारेमा छलफल हुनुपर्ने उनले बताए ।

भिडियो हेर्नुहोस्:

त्यस्तै ओलीले जनप्रभावकै हिसाबले पनि एमाले देशको पहिलो पार्टी रहेको बताए । एमाले असफल नभएपनि धेरै सफल नभएको उनले बताए । उनले एमाले अहिले पनि पहिलो शक्ति भएको भन्दै स्थानीय तहमा १२० सिट जितेको माओवादी केन्द्रले २०५ सिट जितेको एमालेलाई हरायौँ भन्नु हास्यास्पद रहेको तर्क गरे । उनले देश र जनताको हितको काम एमालेले कहिल्यै नछाड्ने स्पष्ट पारे । ओलीले कुनै पनि प्रतिक्रियावादी शक्तिले एमालेलाई ध्वस्त गर्न नसक्ने जिकिर गरे

प्रशिक्षणका क्रममा ओलीले पार्टीभित्र बसेर पार्टीलाई नै गिराउन खोज्ने व्यक्ति एमालेको कार्यकर्ता हुन नसक्ने बताए । समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य प्राप्तिका लागि एमाले सशक्त भएर अघि बढ्नुपर्ने उनले बताए ।