एजेन्सी – भारतले पाकिस्तानसँगको तनावका क्रममा पाकिस्तानले ३००–०० ड्रोनमार्फत भारती सैन्य पूर्वाधारलाई निशाना बनाउँदै आक्रमण गरेको जनाएको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणहरूको बारेमा जानकारी दिइन् ।
सोफिया कुरेशीले भनिन्, ‘पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारलाई निशाना बनाएको थियो।’ उनका अनुसार पाकिस्तान तर्फबाट ३०० देखि ४०० ड्रोनहरू छोडिएको थियो। यद्यपि, पाकिस्तानका रक्षामन्त्रीले आक्रमणको अस्वीकार गरे।
कर्नेल सोफियाले भनिन्, ‘लेहदेखि सर क्रिकसम्मका ३६ स्थानमा ३००–४०० ड्रोनहरूले घुसपैठ गर्ने प्रयास गरियो । भारतीय सुरक्षा बलले काइनेटिक र गैर–काइनेटिक माध्यम प्रयोग गरेर यी धेरै ड्रोनहरूलाई खसालेको थियो।’
‘यति ठूलो मात्रामा हवाई घुसपैठको सम्भावित उद्देश्य वायु रक्षा प्रणाली परीक्षण गर्नु र गुप्तचर जानकारी सङ्कलन गर्नु थियो। ड्रोनको भग्नावशेषको फोरेन्सिक जाँच भइरहेको छ। प्रारम्भिक अनुसन्धानले यी ड्रोनहरू टर्कीमा निर्मित भएको संकेत गर्छ।’
उनले भने, ‘पाकिस्तान तर्फबाट सीमामा भारी गोलाबारी भइरहेको छ। यस गोलाबारीबाट केही भारतीय सेनाका सैनिकहरू मारिएका छन्। भारतको जवाफी कारबाहीमा पाकिस्तानले ठूलो क्षति बेहोरेको छ।’
यद्यपि, कर्नेल सोफियाले सीमामा पाकिस्तानले गरेको गोलाबारीमा मारिएका वा घाइते भएका भारतीय सैनिकहरूको संख्याको बारेमा कुनै जानकारी दिएनन्।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बिहीबार राति बीबीसीलाई भनेः ‘हामी यसलाई अस्वीकार गर्छौं, हामीले अहिलेसम्म केही गरेका छैनौं। जब पाकिस्तानले आक्रमण गर्छ, सबैले थाहा पाउनेछन्।’