काठमाडौँ – युएईमा आजदेखि सुरु भएको यू–१९ क्रिकेट विश्वकप एशिया क्षेत्र छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई रनको चुनौती दिएको छ । शुक्रबार युएईको अजमानस्थित इडेन गार्डेन ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको नेपाली यू–१९ टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको हो ।
नेपाललाई उच्च योगफलतर्फ डोर्याउन क्रममा आकाश त्रिपाठी र विशाल विक्रम केसीले शानदार ब्याटिङ गरे । सो क्रममा आकाशले १०० बलमा ७ चौका र १ छक्काको मदतमा ७८ रन जोडे । यस्तै विशालले ५४ बलमा ४ चौका र २ छक्काको मदतमा नटआउट ६३ रनको योगदान गरे ।
यस्तै अर्जुन कुमालले ३७, कप्तान देव खनालले २१, दीपक बोहराले १७, सुवास भण्डारीले नटआउट १२ र दीपक डुम्रेले १० रन बनाए ।
बलिङतर्फ सिंगापुरका अभुदय छचेर र आर्यभीर चौधरीले समान २–२ विकेट लिए । यस्तै आदित्य भर्गवा र महियु भाटियाले समान १–१ विकेट लिए ।
सिंगापुरले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।