काठमाडौँ – यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आज २६ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव २९ अङ्कमा कायम भएको छ ।


ADVERTISEMENT


आज दुई सय ५९ कम्पनीको ३७ लाख ५४ हजार तीन सय ३४ कित्ता शेयर ३२ हजार एक सय ६८ पटक खरिद बिक्री हुँदा रू एक अर्ब २८ करोड ९३ लाख ७१ हजार बराबरको कारोबार भएको छ । सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक एक सय ३३ दशमलव ९१ अङ्क र निर्जीवन बीमा समूहको उपसूचक ९९ दशमलव १५ अङ्कले घटेको छ ।


ADVERTISEMENT

# # #


बैंकिङ समूह १७ दशमलव ५७, विकास बैंक समूह ५३ दशमलव ४३, वित्त समूह १८ दशमलव ८९, होटल तथा पर्यटन समूह १२ दशमलव ५२ र जलविद्युत् समूह २४ दशमलव १९ अङ्कले घटेको छ । त्यस्तै लगानी समूह शून्य दशमलव ६४, जीवन बीमा समूह ८३ दशमलव ०१, उत्पादन समूह ८७ दशमलव ३०, म्युचुअल फन्ड शून्य दशमलव ६५, व्यापार समूह ४३ दशमलव ७८ र अन्य समूह तीन दशमलव ९९ अङ्कले घटेको छ ।

मायाखोला जलविद्युत् कम्पनी लिमिटेड र एसियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चार लघुवित्त कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । नेप्सेकाअनुसार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

सबैभन्दा धेरै हिमालयन डिस्ट्रिलरी लिमिटेडको रू आठ करोड ६२ लाख ८८ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनआइसी एसिया ग्रोथ फन्डको एक लाख २३ हजार तीन सय कित्ता शेयर खरिद बिक्री भएको छ ।