भोजपुर– बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कूल अनुमानित रु एघार करोड ११ लाख आठ हजार नौ सय २७को लागतमा निर्माण भइरहेको यो आयोजनामा बढीले क्षति पुर्याएको हो ।
बाढीले पानी तान्ने ठाउँ सवा खोला किनारमा रहेको ट्याङ्की बगाएको छ भने त्यहाँ निर्माण गरिएको घर पनि पुरिएको छ । चैनपुर नगरपालिका–११ मा रहेको यो आयोजनाबाट तीन सय ८६ मध्ये १०० परिवारले पानी उपभोग गर्न थालेका थिए । खोलामा आएको बढीले आयोजनालाई क्षति पुर्याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले जानकारी दिए ।
निर्माणको अन्तिम चरणमा रहेको आयोजनामा क्षति पुगेपछि समस्या थपिएको उनको भनाइ छ । ‘सवा खोलामा आएको बाढीले आयोजनाको काममा पूर्णरुपमा क्षति पुगेको छ’, प्रमुख सिंहले भने, ,‘‘खोला किनारमा रहेका संरचना बनाएको छ, क्षतिको पूर्णविवरण आउन बाँकी छ । अनुमानित रु डेढ करोडभन्दा बढीको क्षति भएको अवस्था छ ।’
आर्थिक वर्ष २०७५÷७६देखि यो योजनाको निर्माण थालिएको हो । बाढीले पानी तान्ने ठाउँमा रहेको सम्पूर्ण उपकरण तथा संरचनामा क्षति पुर्याएको निर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धवराज त्रितालले जानकारी दिए । ‘‘बढीले खानेपानी सञ्चालनमा अवरोध भएको छ’, उनले भने, ‘खोला किनार रहेको कुनै पनि संरचना बाँकी छैनन् । सबै पुरिएको अवस्था छ । बाढीका कारण करोडौँको क्षति भएको अवस्था छ ।’