काठमाडौँ – भारत सरकारले जाजरकोटमा गएको भूकम्प पीडितहरुका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार नेपालगञ्जमा कर्णालीका मुख्यमन्त्री राज कुमार शर्माको उपस्थितिमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका हुन् ।
नेपाललाई हरसम्भव प्रयास गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता अनुरुप १० करोड भारतीय रुपैयाँ बराबरको आपतकालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज आइपुगेको थियो । भारतीय वायुसेनाको एक विशेष विमान सी–१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर आएको हो ।
यी आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरुका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लीपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन् ।
आगामी दिनमा राहत सामग्रीका थप खेपहरु नेपाल आइपुग्ने अपेक्षा भारतीय राजदूतावासले जनाएको छ । घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरुलाई हर सम्भव सहयोग गर्न प्रतिबद्ध रहेको भारतीय राजदूतावासको भनाई छ ।
२०७२ सालको भूकम्पमा समेत भारतले राहत तथा उद्दारका साथै निकै सक्रियताका साथ पुनर्निर्माणमा सहयोग गरेको थियो । भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा दीर्घकालीन सहकार्यको एक हिस्साको रुपमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो । जसमा नेपालका गोरखा र नुवाकोट जिल्लाका ५० हजार घरहरुको पुनर्निर्माण गरिएको थियो ।