काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यसवर्ष मंसिर १४ गतदेखि काठमाडौंमा आयोजना हुने भएको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसवर्ष मंसिर १४ गतदेखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा व्यापार मेला आयोजना हुने जानकारी दिएको हो ।


ADVERTISEMENT


मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेशलगायतका देशबाट पनि सहभागिता हुने महासंघले जनाएको छ । त्यस्तै मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभिलियन तथा जुत्ता उत्पादक संघको तर्फबाट ४० स्टल रहने र चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ स्टलहरु रहनेछन् । कुल २१० वटा स्टलहरुमार्फत मेलामा स्वदेशी तथा विदेशी वस्तु तथा सेवाहरुको प्रदर्शनी रहने महासंघका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । मेलाले स्वदेशी बस्तुको प्रवर्द्धन गर्न मदत पुग्ने उनले बताए ।


ADVERTISEMENT

# # #


मेलाका अवसरमा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारित प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिमण्डलबीच छलफल गर्ने कार्यक्रम रहेको ढकालले जानकारी दिए । कोभिड महामारीपछि हुन लागेको मेलाको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।