काठमाडौँ – आईसीसी टी–२० विश्वकप क्रिकेट अफ्रिका क्षेत्र छनोटमा लगातार ५ जित निकाल्दै घरेलू टोली नामिबिया आगामी वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ ।


ADVERTISEMENT


मंगलबार तान्जानियालाई ५८ रनले हराउँदै नामियबयाले टी–२० विश्वकपमा स्थान पक्का गरेको हो । नामिबियाको विन्डहकस्थित वेन्डेरर्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको तान्जानिया पूरै २० ओभर खेलेर ९ विकेट गुमाउँदै ९९ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


यसअघि नामिबियाले समूह चरणमा पहिलो खेलमा जिम्बाब्बे, दोस्रो खेलमा युगाण्डा, तेस्रो खेलमा रवाण्डा, चौथो खेलमा केन्यालाई पराजित गरेको थियो ।

अफ्रिका छनोटमा आयोजक नामिबियासहित जिम्बाब्बे, केन्या, युगाण्डा, नाइजेरिया, रवाण्डा र तान्जानिया गरी ७ राष्ट्र रहेका छन् । प्रतियोगिताका उत्कृष्ट २ टोलीले आगामी वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाउने छन् । नामिबिया छनोट भएसँगै बाँकी रहेको एक स्थानका लागि युगाण्डा, केन्या र जिम्बाब्बे प्रतिस्पर्धामा रहेका छन् । समान ४ खेल खेलेका युगाण्डा र केन्या समान ३ जित र १ हारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । यता टेस्ट राष्ट्र जिम्बाब्बे भने २ खेलमा २ जित र २ हारहित चौथो स्थानमा रहेको छ ।

पहिलो खेलमा आयोजक नामिबियासँग पराजित भएको जिम्बाब्बे चौथो खेलमा युगाण्डाविरुद्ध स्तब्ध भएसँगै विश्वकपमा पुग्ने सम्भावना कमजोर बनेको थियो । २० राष्ट्रले सहभागिता जनाउने विश्वकपमा एशियाबाट नेपाल र ओमान छनोट भएका छन् ।