चितवन– सरकारले चितवनको बाँदरमुढे घटनाका मृतकहरुलाई शहीद घोषणा गरेपछि बाँदरमुढे घटना पीडित समितिले निर्णयको स्वागत गरेको छ ।
समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले आज एक विज्ञप्ती जारी गर्दै लामो समयदेखि आफूहरुले राखेको माग वर्तमान सरकारले सुनुवाई गरेको भन्दै शहीद घोषणा निर्णयको स्वागत गरेको हो । समितिले आगामि दिनमा पीडकलाई सजाय र पीडितलाई न्याय तथा परिपुरण दिन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
समितिले घटनापछि आफूहरुले बारम्बार राख्दै आएको माग तीन पटक सरकारको नेतृत्व गरेको माओवादी पार्टीले पुरा गर्न नसकेको बरु उल्टै पीडितलाई धम्क्याउने काम गरेको स्मरण गराउँदै वर्तमान सरकारको सहिद घोषणाको निर्णयलाई सहयोग र स्वागत गरेको हो । समितिले बेपत्ताा पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिला आयोगलाई पूर्ण रुपमा सहयोग गरि पीडितलाई बाच्न पाउने अधिकारको ग्यारेण्टी गर्न सरकार समक्ष माग समेत गरेको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुवाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु हुनेलाई शहीद घोषणा गर्ने निर्णय गरेको थियो। तत्कालिन नेकपा माओवादीको विद्युतीय धरापमा परि ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए ।