काठमाडौं– संयूक्त मुस्लिम भातृ संगठनहरुले राष्ट्रियसभामा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कार कार्यक्रममार्फत उनीहरुले सो माग गरेका हुन् । संगठनले विभिन्न राजनीतिक दलबाट राष्ट्रियसभामा मुस्लिम समुदायको प्रतिनिधित्व हुने सम्भावना कम हुँदै गएकोले त्यसका लागि दबाब दिएको समेत जनाएको छ ।


ADVERTISEMENT


राष्ट्रियसभा सदस्यको लागि कुनैपनि राजनीतिक दलहरुले मुस्लिम समुदायबाट प्रतिनिधि छनोट नगरेपछि मुस्लिम समुदाय आक्रोशित समेत बनेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष सेराज अहमद फारुकीले राष्ट्रियसभा मुस्लिम प्रतिनिधित्वविहिन हुन नसक्ने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै उनले भने, ‘४.४८ प्रतिशत जनसंख्या रहेको मुस्लिम समुदायको प्रतिनिधित्व बेगर राष्ट्रियसभाको कल्पना गर्न सकिँदैन, यस्तो स्थितिमा राजनीतिक दलहले ध्यान दिनुपर्छ, नेपालको परिवर्तन र राष्ट्रियताको लागि सबैभन्दा बढि ईमान्दार समुदाय मुस्लिम समुदाय हो, तर यो राज्यले हाम्रो समुदायलाईनै प्रहार गरिरहेको छ ।’

त्यस्तै, माओवादी केन्द्रका पोलिटब्यरो सदस्य तथा मुस्लिम मुक्ति मोर्चा नेपालका अध्यक्ष अतहर हुसेन फारुकीले संविधानले व्यवस्था गरेको अधिकारलाई राजनीतिक दलहरुले कुल्चने काम गरेको आरोप लगाए ।

उनले भने,‘संविधानले व्यवस्था गरेको अधिकारलाई नै बेवास्ता गरेर राष्ट्रिय सभाको परिकल्पना गरिएको छ, यसले मुस्लिम समुदायलाई हेर्ने दृष्टिकोण कस्तो छ भन्ने कुरालाई इंकित गर्दछ।’ सोही संगठनका बरिष्ठ उपाध्यक्ष ताज महम्मद मियाले राष्ट्रिय सभामा मुस्लिमको प्रतिनिधित्व नगरिएका आन्दोलनमा उत्रिने चेतावनी दिए ।

पत्रकार सम्मेलनमा मुस्लिम संघ नेपालका अध्यक्ष अब्दुल सत्तारले विगतका हरेक आन्दोलनमा मुस्लिम समुदायको देन भएपनि राष्ट्रिय सभाजस्तो गरिमामय स्थानमा उपस्थिति शुन्य पार्नु गैर–जिम्मेवारपन भएको टिप्पणी गरे ।