काठमाडौँ – भारतीय सरकारको सहयोगमा काठमाडौंको डिल्लीबजारस्थित श्री पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावास भवनको निर्माण सम्पन्न भएको छ ।


ADVERTISEMENT


नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत ३.२३६ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको सोमबार जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


३९ वटा कोठा भएको चार तल्ले उक्त भवनमा भान्सा कोठा, डाइनिङ्ग हल, भण्डार कक्ष, वार्डेन कक्ष, गार्ड कक्ष, अतिथि कक्ष, कार्यालय कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रतीक्षालय, ग्रीन रुम, लन्ड्री, शौचालय, स्नानघर, सोलार ब्याकअप सिस्टम लगायतको सुविधा रहेको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, काठमाडौंमार्फत गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि राम्रो आवासीय सुविधा तथा गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने पद्मकन्या माध्यमिक विद्यालयले विश्वास व्यक्त गरेको छ । साथै शिक्षाको विकासमा पनि योगदान पुऱ्याउनेछ । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये काठमाडौं जिल्लाका ४१ वटा परियोजनासहित बागमती प्रदेशमा १०६ वटा परियोजना रहेका छन् ।