काठमाडौं- नेपालको पहिलो पूर्ण लम्बाइको एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारलाई लक्षित गर्दै प्रदर्शनमा आउने भएको छ। हिमालय क्षेत्रको आध्यात्मिक परम्परा, नेपाली मिथक र प्राकृतिक सौन्दर्यबाट प्रेरित यो फिल्मले नेपाली कथा, संस्कृति र मौलिकतालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने लक्ष्य लिएको निर्माण पक्षले जनाएको छ।
फिल्मले मित्रता, करुणा, साहस र आत्म–खोजजस्ता सार्वभौमिक विषयलाई नेपाली सांस्कृतिक परिवेशसँग जोडेर प्रस्तुत गरेको छ। आधुनिक एनिमेसन प्रविधिमार्फत नेपाली मिथक र आध्यात्मिक परम्परालाई विश्वस्तरको प्रस्तुतीकरणमा रूपान्तरण गरिएको निर्माण टोलीको दाबी छ।
फिल्मको कथा १२ वर्षीया एक बालिका र उनका साथीहरू रहस्यमय संसारमा प्रवेश गरेपछि सुरु हुन्छ। त्यहाँ उनीहरूले अन्धकार शक्तिसँग सामना गर्दै प्रेम, मित्रता, करुणा र साहसको वास्तविक अर्थ खोज्ने यात्रालाई फिल्मले चित्रण गरेको छ।
निर्माण पक्षका अनुसार ‘लस्ट इन मण्डला’ फरक उमेर समूह र विभिन्न देशका दर्शकसँग भावनात्मक रूपमा जोडिन सक्ने गरी निर्माण गरिएको छ। नेपाली सांस्कृतिक सम्पदालाई विश्व बजारमा परिचित गराउने उद्देश्यले फिल्ममा अन्तर्राष्ट्रिय स्तरको एनिमेसन र दृश्य प्रभाव भिजुअल इफेक्ट्स प्रयोग गरिएको छ।
नेपालका अग्रणी चलचित्र वितरकमध्ये एक एप्पल इन्टरटेन्मेन्ट प्रालिले नेपालसहित छनोट गरिएका अन्तर्राष्ट्रिय बजारमा फिल्मको आधिकारिक वितरण गर्ने भएको छ। कम्पनीको वितरण सञ्जालमार्फत फिल्म विभिन्न देशका सिनेमाघरमा प्रदर्शन गरिने जनाइएको छ।
फिल्मका कार्यकारी निर्माता तथा एप्पल इन्टरटेन्मेन्टका अध्यक्ष एवं क्यूएफएक्स सिनेमाजका सह–संस्थापक नाकिम उद्दिनले नेपाली कथालाई विश्व बजारमा पुर्याउन पाउनु गौरवको विषय भएको बताए। उनले ‘लस्ट इन मण्डला’ले नेपाली सिर्जनशीलताको अन्तर्राष्ट्रिय सम्भावनालाई थप उजागर गर्ने विश्वास व्यक्त गरे।
एप्पल इन्टरटेन्मेन्टकी प्रबन्ध निर्देशक विपश्यना श्रेष्ठले नेपाली सांस्कृतिक परिवेशमा आधारित फिल्मलाई आफ्नो वितरण सञ्जालमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउन पाउँदा उत्साहित रहेको बताइन्। उनका अनुसार यो परियोजनाले नेपाली चलचित्र उद्योगलाई विश्व बजारमा स्थापित गराउने नयाँ अवसर सिर्जना गर्नेछ।
फिल्मका निर्माता तथा निर्देशक किरण भट्ट जोशी हुन्। उनी इन्सेसेन्ट रेन स्टुडियोजका संस्थापक तथा पूर्व हलिउड भिजुअल इफेक्ट्स सुपरभाइजर हुन्। उनले यसअघि द लायन किङ, ब्युटी एन्ड द बिस्ट र द हन्चब्याक अफ नोट्रे डाम जस्ता चर्चित परियोजनामा काम गरिसकेका छन्।
फिल्मको पटकथा हलिउडका चर्चित लेखक ज्याक स्टेन्ट्जले तयार पारेका हुन्। उनले थोर, एक्स–मेनः फर्स्ट क्लास तथा जुरासिक वर्ल्डः क्याम्प क्रेटेसियस लगायतका चर्चित परियोजनामा योगदान दिएका छन्। निर्माण टोलीका अनुसार नेपाली र हलिउडका अनुभवी प्राविधिक तथा सिर्जनात्मक टोलीको सहकार्यमा बनेको ‘लस्ट इन मण्डला’ले नेपालको एनिमेसन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ।




























































