काठमाडौँ – सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि रु ३ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।
मंगलबार संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले खेल क्षेत्रको पूर्वाधार विकासको लागि मात्रै एक अर्ब ३० करोड बजेट छुट्याएको घोषणा गरे । उनले अगामी आर्थिक वर्ष ८० वटा राष्ट्रिय स्तरका खेलकुदहरु आयोजना गर्ने जानकारी दिए ।
टियु क्रिकेट मैदानको स्तर उन्नति गरिने, गौतम बुद्ध रंगशालालाई प्रदेश र स्थानीय तहको सहकार्यमा निर्माण गरिने उनले बताए । मन्त्री पुनले काठमाडौंको मुलपानी र विराटनगरको गरिजाप्रसाद रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने जानकारी दिए । उनले १० औं राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्न रु ६० करोड बिनियोजन गरेको जानकारी दिए ।
उनले शिक्षकलाई खेलकुदको तालिम दिइ विद्यालयमा खेलकुद प्रवद्र्धनका काम गर्ने बताए । खेलकुद अर्थतन्त्रको विकास गर्न निजी क्षेत्रसंग सहकार्य गर्ने उनको भनाइ छ ।