हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । सरकारको निरन्तरताका लागि निर्णायक मानिएको विश्वासको मत जुटाउन मुख्यमन्त्री बानियाँले सत्ता साझेदार दलसहित अन्य राजनीतिक दलसँग संवाद र समन्वय तीव्र बनाउने भएका छन् ।
शनिबार काठमाडौंमा बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँले भदौ ३ गतेभित्रै प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गरेको हो । गत साउन ६ गते सत्ता साझेदार नेकपा(एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा छन् ।
संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएकाले मुख्यमन्त्री बानियाँले भदौ ४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ । त्यसअघि नै विश्वासको मत लिने गरी कांग्रेस संसदीय दलले भदौ ३ गतेको समय तय गरेको हो ।
सरकार जोगाउन मुख्यमन्त्री बानियाँलाई कांग्रेसबाहेकका साना दलहरूको समर्थनसमेत आवश्यक पर्ने अवस्था छ । एमालेले कांग्रेससँगको सत्ता गठबन्धनबाट अलग हुँदै नेकपासँग नयाँ राजनीतिक समीकरण निर्माण गरेपछि बागमती प्रदेशको सत्ता समीकरण थप पेचिलो बनेको छ ।
एकातर्फ कांग्रेसले साना दलहरूको समर्थन जुटाएर वर्तमान सरकारलाई निरन्तरता दिने रणनीति अघि बढाएको छ भने अर्कोतर्फ एमाले र नेकपाबीच नयाँ सरकार गठनका लागि आवश्यक संख्या जुटाउने प्रयास भइरहेको छ । तर नयाँ सरकार गठनको स्पष्ट आधार तय भइनसकेकाले प्रदेशको सत्ता समीकरण अझै अन्योलपूर्ण अवस्थामा छ ।
यही राजनीतिक परिस्थितिबीच कांग्रेस संसदीय दलले मुख्यमन्त्री बानियाँको पक्षमा विश्वासको मत जुटाउन दलगत तथा शीर्ष तहको संवादलाई प्राथमिकता दिने निर्णय गरेको छ । विश्वासको मत लिनुभन्दा एक दिनअघि नै सबै सांसदलाई हेटौँडा उपस्थित हुन निर्देशन दिँदै ह्विपसमेत जारी गरिएको कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।
बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मतका विषयमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत शीर्ष नेताहरूसँग आवश्यक छलफल र समन्वय गर्ने निर्णय गरेको महर्जनले बताए ।
त्यसैगरी, मुख्यमन्त्री बानियाँलाई विश्वासको मत पुर्याउन कांग्रेसको शीर्ष नेतृत्वसँगै प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलका नेतृत्वसँग समेत निरन्तर संवाद र छलफल गर्ने निर्णय भएको उनले जानकारी दिए ।
भदौ ३ गते मुख्यमन्त्री बानियाँका लागि केवल विश्वासको मत परीक्षण गर्ने दिन मात्र नभई बागमती प्रदेशको आगामी सत्ता समीकरणको दिशासमेत तय गर्ने महत्वपूर्ण दिन बन्ने देखिएको छ ।























































