काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा धेरै उत्साहित हुनुपर्ने ठाउँ नगरेको प्रतिक्रिया दिएको छ ।
मंगलबार बजेट भाषणापछि बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बजेटमा उत्साहित हुने ठाउँ नरहेको प्रतिक्रिया दिएका हुन् ।
‘बजेटमा धेरै उत्साहित हुने ठाउँ छैन’, उनले भने, ‘जे कुरा भन्दा अप्ठ्यारो पर्छ, त्यसमा चलाखीपूर्ण ढंगले उहाँ (अर्थमन्त्री) बोल्नुभएको छैन। बजेटले जे बोलेको छ, त्यो पूरा नहुने खालको छ। प्राथमिकीकरण गरिएको छैन। लामो समयदेखि देखिएको बेथिति अन्त्य गर्ने खालको बजेट भएन।’
यस्तै काँग्रेस नेता अर्जुन नरसिंह केसीले बजेट जतातिर मूल केन्द्रित हुनुपर्ने हो त्यातातिर भन्दा वितरणमुखी, जनप्रियतावादी देखिएको बताए । यस्तै उनले कृषि दशक मनाउने भनेर घोषणा गर्दा गतवर्षको भन्दा २ अर्ब बजेट घटाइएको बताए ।
उनले भने, ‘जनप्रियतावादमा केन्द्रित हुनुभन्दा व्यवहारिकतावादमा केन्द्रित हुनुपर्ने आवश्यकता छ । त्यसकारण मान्छे अल्मल्याउने र भ्रमको खेती गर्ने भन्दा जति सकिन्छ, त्यति गर्न सकिने गरी प्रस्तुत हुनुपर्छ ।’
यस्तै नेपाली काँग्रेसको वरिष्ठ नेता शेखर कोइरालाले बजेट सुन्दा ठिकै देखिए पनि कार्यान्वन प्रभावकारी बनाउनुपर्ने बताए । यस्तै काँग्रेस सांसद रामहरि खतिवडाले आलु प्याजका कर हटाए पनि अन्य प्रभावकारी कार्यक्रम नरहेको र सबै पुरानै रहेको जिकिर गरे ।
उनले भने, ‘यस्तो हुनेछ, यस्तो गरिनेछ भन्ने खालका कार्यक्रम छन् । साह्रै आशा, भरोसा लाग्दो छैन ।’