काठमाडौं- नेपाली कांग्रेसले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क खारेज गर्ने सरकारको निर्णयलाई स्वागत गर्दै यसले सर्वसाधारणलाई राहत पुग्ने विश्वास व्यक्त गरेको छ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्तावित समता शुल्क खारेज गर्ने निर्णय गर्नु सकारात्मक, समयानुकूल र व्यवहारिक कदम भएको बताएका छन्।
उनले सरकारले लिएको निर्णयले शिक्षा र स्वास्थ्य सेवा उपयोग गर्ने लाखौं नागरिकलाई थप आर्थिक भारबाट जोगाउने उल्लेख गर्दै यसबाट आम उपभोक्ताले प्रत्यक्ष राहत महसुस गर्ने विश्वास व्यक्त गरेका छन्।
सभापति थापाले नेपालको वर्तमान शिक्षा र स्वास्थ्य प्रणालीमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै निजी क्षेत्रलाई पूर्ण रूपमा अलग राखेर सेवा प्रवाह गर्ने अवस्था नरहेको बताएका छन्। शिक्षा र स्वास्थ्य सेवामा निजी क्षेत्रले ठूलो लगानी गर्दै आएको तथा लाखौं नागरिक त्यसैमा निर्भर रहेकाले नीतिगत निर्णय गर्दा यथार्थ अवस्थालाई ध्यानमा राख्नुपर्ने उनको भनाइ छ।
उनले निजी विद्यालय र अस्पतालका सेवा प्रयोग गर्ने नागरिकमाथि अतिरिक्त कर लगाएर अर्को वर्गलाई सहयोग गर्ने अवधारणा सुरुदेखि नै व्यवहारिक र न्यायोचित नभएको कांग्रेसको धारणा रहेको स्पष्ट पारेका छन्। यस्तो नीति लागू गर्दा सेवाको लागत बढ्ने र त्यसको प्रत्यक्ष असर विद्यार्थी, अभिभावक तथा बिरामीमाथि पर्ने भएकाले कांग्रेसले यसको विरोध गर्दै आएको उनले बताएका छन्।
थापाले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा कर तथा शुल्कसम्बन्धी नीति बनाउँदा नागरिकको पहुँच, सेवा गुणस्तर, निजी क्षेत्रको योगदान र राज्यको दायित्वबीच सन्तुलन कायम गर्न आवश्यक रहेको उल्लेख गरेका छन्।
सरकारले नागरिकमाथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क लागू नगर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले त्यसलाई स्वागत गरेको हो। कांग्रेसले आगामी दिनमा पनि नागरिकमैत्री र व्यवहारिक नीति निर्माणमा जोड दिँदै सरकारसँग सहकार्य गर्ने जनाएको छ।



























































