काठमाडौँ – नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपको अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले बुधबार सिरोहियालाई हाजिरी जमानीमा रिहा गरेको हो ।
जेठमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा बसेका सिरोहिया स्वास्थ्यमा समस्या देखिएपछि १२ जेठमा काव्य अस्पताल भर्ना गरिएका थिए । मुटुसम्बन्धी समस्या भएका सिरोहियालाई थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।
सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।
सोही आरोपमा उनी जेठ ८ गते पक्राउ परेका थिए ।