काठमाडौं- नेपालले हालै राष्ट्रिय एआई नीति लागू गर्नुका साथै राष्ट्रिय एआई केन्द्र स्थापना गरी डिजिटल रूपान्तरणलाई अगाडि बढाइरहेका बेला वर्ल्ड फोरम फर एथिक्स इन बिजनेस (WFEB) ले काठमाडौंस्थित द सोल्टी होटलमा ‘मानवताका लागि एआई : एआई युगका ठूला सामाजिक चुनौतीहरूको सामना’ विषयक विशेष प्रवचन कार्यक्रम आयोजना गरेको छ।


ADVERTISEMENT


कार्यक्रममा WFEB का अध्यक्ष डा. सञ्जय प्रधानले मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) ले नेपालका लागि सिर्जना गर्ने विशाल अवसर र उदीयमान चुनौतीबारे चर्चा गरे। उनले एआईले राष्ट्रिय विकासलाई तीव्र बनाउन, सुशासनलाई सुदृढ गर्न तथा युवाहरूलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै मानव मर्यादा, लोकतान्त्रिक मूल्य र मानवको निर्णय गर्ने क्षमताको संरक्षण गर्ने जिम्मेवार तथा नैतिक एआईको विकासमा जोड दिए।


ADVERTISEMENT

# # #


सुशासन र नैतिक नेतृत्वसम्बन्धी आफ्नो अन्तर्राष्ट्रिय अनुभव साझा गर्दै डा. प्रधानले नैतिकता र नवप्रवर्तन एकअर्काका प्रतिस्पर्धी नभई परिपूरक रहेको बताए। उनले प्रविधिमा उत्कृष्टतासँगै नैतिक नेतृत्वलाई आत्मसात् गर्ने देशहरू एआईको युगमा सबैभन्दा सफल हुने धारणा व्यक्त गरे।

डा. प्रधानले WFEB को नोभेम्बर २०२६ मा हुने ग्लोबल समिटपछि ‘नेशनल एआई फर ह्युम्यानिटी फोरम’ आयोजना गर्ने पहिलो देशमध्ये एक बन्न नेपाललाई निमन्त्रणा पनि दिए। उनका अनुसार उक्त फोरमले सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, नागरिक समाज तथा युवालाई एउटै मञ्चमा ल्याएर समावेशी र नैतिक एआईको भविष्य निर्माणमा योगदान पुर्‍याउनेछ।

सो अवसरमा उनले भने, “एआईको भविष्य अन्ततः मानवताको कथा हो। एआई मानव जातिका लागि सबैभन्दा ठूलो अवसर बन्छ वा सबैभन्दा ठूलो जोखिम, त्यो प्रविधिले होइन, हामीले त्यसलाई कुन बुद्धिमत्ता, मूल्य र नेतृत्वका साथ अघि बढाउँछौं भन्ने कुराले निर्धारण गर्छ।”

कार्यक्रमको स्वागत मन्तव्य WFEB को ‘एआई फर ह्युम्यानिटी’ कार्यक्रमकी संयोजक तथा AOL नेपालकी कर्पोरेट कार्यक्रम निर्देशक नीवा एम. प्रधानले राखेकी थिइन्। कार्यक्रमको समापनमा उनले धन्यवाद ज्ञापन पनि गरिन्।

आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वर के. सिंहले डा. सञ्जय प्रधानलाई सम्मानस्वरूप कदरपत्र प्रदान गरेका थिए। कार्यक्रमको सञ्चालन टिम भेन्चर्सका प्रमुख कार्यकारी अधिकृत तेन्जिङ सोनाम गोन्सारले गरेका थिए। कार्यक्रममा आर्ट अफ लिभिङ नेपालका पूर्वअध्यक्ष, सदस्य तथा शुभेच्छुकहरूको समेत उपस्थिति रहेको थियो।

वर्ल्ड फोरम फर एथिक्स इन बिजनेस (WFEB) बेल्जियमको ब्रसेल्समा मुख्यालय रहेको सार्वजनिक हितका लागि कार्यरत अन्तर्राष्ट्रिय प्रतिष्ठान हो। गुरुदेव श्री श्री रविशंकरबाट प्रेरित यस संस्थाले विगत दुई दशकमा विश्वभरका व्यवसाय, सरकार, शैक्षिक क्षेत्र तथा नागरिक समाजका एक लाखभन्दा बढी नेतृत्वकर्तालाई नैतिक नेतृत्व र जिम्मेवार व्यवसाय प्रवर्द्धनका लागि एउटै मञ्चमा ल्याएको छ। यसको ‘एआई फर ह्युम्यानिटी’ पहलले मानव मर्यादा र मानवको निर्णय गर्ने क्षमताको संरक्षण गर्दै कृत्रिम बुद्धिमत्ताको जिम्मेवार विकास र सुशासनको वकालत गर्दै आएको छ।

सन् २०१६ मा आर्ट अफ लिभिङ नेपालले पहिलो पटक WFEB को स्याटेलाइट सम्मेलन आयोजना गरेको थियो, जसमा ७५० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमले नेपालमा नैतिक नेतृत्व र जिम्मेवार व्यवसायसम्बन्धी अन्तर्राष्ट्रिय संवादको महत्वपूर्ण सुरुवात गरेको थियो।