विराटनगर – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तासमीकरणमै रहेको बताएका छन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आज बिहान कुराकानी भएको र उनी वर्तमान सत्तासमीकरणकै पक्षमा रहेको स्पष्ट पारे।
फरक प्रसंगमा प्रधानमन्त्री दाहालले सरकारले यही जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष ०८१–८२ को बजेटमा विराटनगरमा चक्रपथ निर्माण, चिकित्साशास्त्र कलेज सञ्चालनलगायत कार्यक्रमसहित कोशी प्रदेशको मागलाई सम्बोधन गरिएको बताए। बजेटमा उत्पादन, उपादकत्व र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको प्रधानमन्त्री दाहालको भनाइ थियो।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मधेश प्रदेशमा वर्तमान समीकरणभन्दा बाहिर गएर सरकार निर्माण नहुने धारणा राखे।


























































