काठमाडौं-  प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा कार्यरत माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन्। सचिवालयको कार्यसम्पादन, पछिल्ला विवाद र आन्तरिक समीक्षा पश्चात् उनलाई टोलीबाट बाहिरिने निर्णय गरिएको स्रोतले जनाएको छ।


ADVERTISEMENT


प्रधानमन्त्री निकट स्रोतका अनुसार करिब डेढ महिना अघि सार्वजनिक भएको पासपोर्ट प्रकरणपछि खनालको भूमिका, कार्यशैली, सार्वजनिक गतिविधि तथा सचिवालयभित्रको समन्वयबारे विस्तृत समीक्षा गरिएको थियो। त्यसक्रममा प्रधानमन्त्री शाहको टिम उनीसँगको सहकार्यलाई निरन्तरता नदिने निष्कर्षमा पुगेको बताइएको छ।


ADVERTISEMENT

# # #


स्रोतका अनुसार यो निर्णय कुनै एक घटनामा मात्र आधारित नभई पछिल्ला केही सातायता भएका समग्र गतिविधि, सचिवालयको कार्यसम्पादन र सार्वजनिक छविको मूल्याङ्कनपछि गरिएको हो। प्रधानमन्त्री शाहले सचिवालयलाई थप प्रभावकारी, अनुशासित र परिणाममुखी बनाउने उद्देश्यले टिमको पुनर्संरचना अघि बढाएका छन्।

माधव खनाल पछिल्लो समय पासपोर्ट प्रकरणसँग जोडिएपछि सार्वजनिक बहसमा आएका थिए। त्यसयता उनको भूमिकालाई लिएर विभिन्न तहमा प्रश्न उठिरहेका थिए। यद्यपि उनीमाथि लागेको आरोप वा विवादबारे सम्बन्धित निकायबाट कुनै अन्तिम कानुनी निष्कर्ष सार्वजनिक भइसकेको छैन।

प्रधानमन्त्रीको सचिवालयले खनालको बहिर्गमनबारे औपचारिक विज्ञप्ति जारी गरेको छैन। त्यस्तै, उनको स्थानमा नयाँ व्यक्ति नियुक्त गरिने वा सचिवालयमा थप फेरबदल हुने विषयमा पनि कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

प्रधानमन्त्री निकट स्रोतका अनुसार सचिवालयको कामलाई अझ व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले आगामी दिनमा समेत आवश्यक संरचनात्मक सुधार र जिम्मेवारी हेरफेर हुन सक्ने संकेत देखिएको छ।