काठमाडौँ – सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई अमेरिकाको भिसा दिलाउन सरकारले पहल गरे पनि असफल भएको बताएकी छन् ।
शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले टी–२० विश्वकपमा सहभागिताका लागि सरकारको कुटनीतिक पहलका बाबजुत टी-२० विश्वकपमा सहभागी हुनका लागि सन्दीपलाई अमेरिकाको भिसा दिलाउन असफल भएको बताएकी हुन् ।
साथै उनले कसैलाई भिसा दिने वा नदिने भन्ने कुरा दूतावासको अधिकारको विषय भएको बताइन् । उनले भनिन्, ‘नेपाल सरकारले पहल, प्रयत्न गर्यो । अमेरिकाले भिसा दिएन । भिसा दिनु नदिनु उसको आफ्नो अधिकारको कुरा भयो । भिसा दिन दिएन भनेर यहाँ हामीले उत्तर दिइराख्नुपर्ने विषय हो भन्ने मलाई लाग्दैन ।’
यसअघि पनि अमेरिकाको भिसा अस्वीकृत भएपछि सन्दीपलाई भिसा दिलाउन माग गर्दै काठमाडौँमा प्रदर्शन समेत भएका थिए । सन्दीपलाई अमेरिकी दूतावासले बिहीबार दोस्रो पटक अन्तवार्ताका लागि बोलाएको थियो ।
तर, दोस्रो प्रयासमा अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेसँगै आगामी जुन १ देखि अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका सहभागिता जनाउने सन्दीपको सपना करिब अन्त्य भएको छ ।
समूह ‘डी’मा रहको नेपालले विश्वकपको पहिलो खेल ४ जुनमा नेदरल्याण्डविरुद्ध खेल्दैछ ।