काठमाडौँ – नेकपा एकीकृत समाजवादीले रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउँदै तोकिएको समयमा नै पार्टीको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने जनाएको छ ।
असार १६ देखि २० गतेसम्म काठमाडौं हुने पार्टीको १० औं राष्ट्रिय महाधिवेशनका विषयमा जानकारी गराउन आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समाजवादीले रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने अहिलेको अवस्थामा त्यस क्षेत्रमा सकारात्मक हस्तक्षेप गर्ने संकल्पका साथ महाधिवेशन आयोजना गर्न लागिएको जनाएको हो ।
वर्तमान राजनीतिमा बढेको अस्थिरता र अविश्वास, उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको समाजवादीको निष्कर्ष छ । पुनरुत्थानवादी शक्तिले सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खल्बल्याउने प्रयत्न गर्ने गरेको समेत सो पार्टीको भनाइ छ ।
पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव कुमार नेपालले महाधिवेशनमार्फत समाजवाद उन्मुख बिचारधारालाई थप स्थापीत गर्ने बताए । चारवटा दस्तावेज प्रस्तुत हुने र सहमतिको महाधिवेशनको रुपमा सम्पन्न गर्ने उनले बताए । त्यस्तै अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीलाइ थप प्रभावकारी बनाउदै लैजाने गरि रणनीति तयार गर्ने धारणा राखे ।
केन्द्रीय सरकारमा सहभागी भएको अवस्थामा मधेश सरकार पार्टीको भूमिकाका बिषयमा पार्टीभित्र छलफल गरेर आवश्यक निर्णय गर्ने उनले बताए । दक्षिणपन्थी यथास्थीतिवादको विरोध गर्रौ, समाजवादको दिशामा अघि बढौँ भन्ने नाराका साथ आयोजना हुने महाधिवेशनमा करिब दुई हजार प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागीता हुने नेकपा एकीकृत समाजवादीले जनाएको छ ।


























































