काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले भगवान् बुद्धले मानव सभ्यतालाई दिएको करुणा, दया, त्याग र सहिष्णुताको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै समाजमा शान्ति, सद्भाव र एकताको आधार बुद्धका शिक्षामै रहेको बताएका छन् ।
बुद्ध जयन्ती हीरक समारोह मूल समिति–२५७० तथा पूर्ण महाविहार तारेश्वर संघ, नागबहालद्वारा आयोजित बुद्ध जयन्ती हीरक समारोह ९बु।सं।२४९३–२५७०० को समापन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले बुद्धलाई केवल धार्मिक व्यक्तित्वका रूपमा नभई सम्पूर्ण मानव जातिलाई जीवन दर्शन प्रदान गर्ने महामानवका रूपमा व्याख्या गरे।
उनले बुद्धको जीवन त्याग, समर्पण र मानव सेवाको अनुपम उदाहरण भएको उल्लेख गर्दै राजसी सुख–सुविधा, परिवार र दरबार त्यागेर मानव कल्याणका लागि सत्यको खोजीमा निस्किएको बुद्धको जीवनबाट सबैले प्रेरणा लिनुपर्ने बताए।
मुख्यमन्त्री बानियाँले अहिलेको समाजमा पद, प्रतिष्ठा र सम्पत्तिप्रतिको मोह बढ्दै गएको उल्लेख गर्दै बुद्धले देखाएको त्यागको मार्ग पछ्याउन सके समाजमा विद्यमान धेरै समस्या समाधान गर्न सकिने धारणा राखे। उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रको हितका लागि काम गर्नु नै बुद्धको मूल सन्देश रहेको बताए।
उनले निर्वाचनका समयमा राजनीतिक दलबीच प्रतिस्पर्धा स्वाभाविक भए पनि निर्वाचन सम्पन्न भएपछि समाजमा विभाजन होइन, एकता र सहकार्य आवश्यक पर्ने उल्लेख गरे। समाजमा कांग्रेस, एमाले, माओवादी वा अन्य दलका आधारमा विभाजन सिर्जना गर्नु उपयुक्त नभएको भन्दै धर्म, संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण सबैको साझा दायित्व भएको उनको भनाइ थियो।
मुख्यमन्त्री बानियाँले पछिल्लो समय विभिन्न ठाउँमा धार्मिक तथा सामाजिक असहिष्णुताका घटना देखिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै बुद्धले दिएको सहिष्णुता, करुणा र सहअस्तित्वको सन्देशलाई व्यवहारमा उतार्न सबै समुदायले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए। उनले सबै धर्म, जाति र समुदायबीच आपसी सम्मान र सद्भाव कायम राख्न सके मात्र मुलुकमा दिगो शान्ति स्थापना हुने धारणा व्यक्त गरे।
उनले बुद्धको शिक्षाले कुनै एक धर्म वा समुदायलाई मात्र नभई सम्पूर्ण मानव सभ्यतालाई मार्गदर्शन गरेको उल्लेख गर्दै समाजमा देखिने द्वन्द्व, घृणा र हिंसाको अन्त्यका लागि बुद्धका विचारलाई व्यवहारमा लागू गर्न आवश्यक रहेको बताए।
समारोहका अवसरमा बुद्ध जयन्ती हीरक समारोहको स्मारिकाको विमोचनसमेत गरिएको थियो। कार्यक्रममा बौद्ध धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा बुद्धका शिक्षाको प्रवर्द्धनमा योगदान पुर्याउने विभिन्न व्यक्तित्व तथा संस्थाको सहभागिता रहेको थियो।
मुख्यमन्त्री बानियाँले बुद्धको करुणा, दया, त्याग र मानव सेवाको भावनालाई आत्मसात् गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सबैलाई आह्वान गरे। उनले बुद्धको सन्देशलाई व्यवहारमा उतार्न सके मात्र समृद्ध, सभ्य र शान्त नेपाल निर्माण सम्भव हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पूर्वमन्त्री तथा वर्तमान प्रदेशसभा सदस्य माननीय रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जन, पूर्व माननीयहरू र विशिष्ट व्यक्तित्वहरू सहभागी भएका थिए ।






























































