काठमाडौँ – राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदमा बजेटमाथिको छलफलको औचित्यमाथि प्रश्न उठाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा केसीले संसदमा जति बहस र छलफल गरेपनि बजेटमा कुनै परिवर्तन नहुने भएकाले बजेटमाथिको छलफलको औचित्य आफूले नदेखेको बताएका हुन् । बजेटको छलफल उत्साहजनक नरहेकाले आफू बैठकमा निदाएको उनले बताए ।
उनले भने, ‘यहाँ जतिसुकै उफ्रिए पनि सत्ता पक्षले प्रस्तुत गरेको बजेट एक सुका, एक आना पनि तलमाथि गर्न नपाइने, त्यसलाई स्वीकार गर्नुपर्ने भए पछि यसको छलफलको औचित्य मलाई लाग्न छाड्यो । आज यही छलफलमा म वाक्क लागेर निदाएछु । संसद रमाइलो छैन, दिक्क लाग्दो छ’
उनले नेपालको संविधानमा व्यवस्था गरेबमोजिम समाजवाद उन्मुख कार्यक्रमलाई प्राथमिकता दिन नसकेको धारणा राखे । सरकारको नीति तथा कार्यक्रम भन्दा फरक रुपमा बजेट आएको उनको भनाइ छ ।
उनले बजेटले दलाल पुँजीको आगमन वृद्धिका लागि विभिन्न बाटो खुलेको तर्क गरे ।


























































