काठमाडौँ – नेपालसहित २० राष्ट्रले अमेरिका र वेष्ट इण्डिजमा नवौँ संस्करणको टी–२० विश्वकप खेलिरहेका छन् । समूह चरणका खेल सुरु हुँदैगर्दा क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी–२० विश्वपका विजेता, उपविजेता र सहभागी टोलीका लागि पुरस्कार रकम सार्वजनिक गरेको छ ।
सोमबार सार्वजनिक पुरस्कार रकम अहिलेसम्मकै धेरै रहेको आईसीसीले जनाएको छ । आईसीसीले यसपटकको विश्वकपमा पुरस्कार दिनका लागि १ करोड १२ लाख ५० हजार अमेरिकी डलर (१ अर्ब ४९ करोड ५५ लाख बढी नेपाली रुपैयाँ)को कोष खडा गरेको छ ।
जसबाट टी–२० विश्वकपको विजेता टोलीले ट्रफीसहित कम्तीमा २४ लाख ५० हजार अमेरिकी डलर (३२ करोड ५६ हजार बढी नेपाली रुपैयाँ) जित्ने आईसीसीले जनाएको छ ।
यस्तै उपविजेता टोलीले १२ लाख ८० हजार अमेरिकी डलर (१७ करोड १ लाख नेपाली रुपैयाँ) प्राप्त गर्नेछ । यस्तै सेमिफाइनलमा पुगेका तर हार व्यहोरेका २ टोलीले ७ लाख ८७ हजार ५०० अमेरिकी डलर (१० करोड ४६ लाख बढी नेपाली रुपैयाँ) प्राप्त गर्नेछन् ।
यस्तै सुपर ८ मा पुगेर हार व्यहोरेका ४ टोलीले ३ लाख ८२ हजार ५०० अमेरिकी डलर (५ करोड ८ लाख बढी नेपाली रुपैयाँ) प्राप्त गर्नेछन् ।
विश्वकपमा सबै खेल हारे पनि करिब ३ करोड पक्का !
आईसीसीले विश्वकपमा सहभागी कुनै पनि टोलीको हात रित्ता नराख्ने भएको छ । सहभागी टोलीले विश्वकपमा सबै खेल हारे पनि आईसीसीले ती टोलीलाई २ लाख २५ हजार अमेरिकी डलर (२ करोड ९९ लाख बढी नेपाली रुपैयाँ) प्रदान गरिने जनाएको छ । जुन प्रतियोगितामा १३औँ देखि २०औँ स्थान हासिल गर्ने टोली हुनेछन् ।
यस्तै विश्वकपमा नवौँदेखि १२औँ स्थानमा रहने ४ टोलीले प्रत्येकले २ लाख ४७ हजार अमेरिकी डलर (३ करोड २९ लाख बढी नेपाली रुपैयाँ) प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनल र फाइनल बाहेकका खेलमा जित हात पार्ने टोलीले प्रत्येक जितका लागि अतिरिक्त ३१ हजार १५४ अमेरिकी डलर अर्थात् ४१ लाख ४१ हजार ४१६ नेपाली रुपैयाँ प्राप्त गर्ने आईसीसीले जनाएको छ ।
२८ दिनसम्म चल्ने टी–२० विश्वकपमा कूल ५५ खेल हुनेछन् । २० टोली सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट उत्कृष्ट २ टोली सुपर ८ मा पुग्नेछन् ।
१० वर्षपछि टी–२० विश्वकपमा फर्किएको नेपाल समूह ‘डी’मा रहेको छ । जहाँ नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड रहेका छन् । नेपालले आफ्नो पहिलो खेल भोलि नेदरल्याण्डविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार राती ९ः१५ बजे सरु हुनेछ ।


























































