काठमाडौँ — पूर्वराष्ट्रपति रामवरण यादवले लोकतान्त्रिक गणतन्त्रको उपलब्धि बहुआयामिक रहेको बताएका छन् । गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समितिले गरेको तस्वीर प्रदर्शनीको सोमबार अवलोकनपछि पूर्वराष्ट्रपति यादवले संसारमा भएका शासन प्रणालीमध्ये सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै सबैभन्दा उत्कृष्ट रहेको बताए ।
जनताको आन्दोलनको उपलब्धिका रुपमा रहेको गणतन्त्रलाई संस्थागत गर्ने कार्य जिम्मेवारीका साथ अघि बढिरहेको उल्लेख गर्दै उनले यस व्यवस्थालाई बलियो तुल्याउन खम्बाका रुपमा राजनीतिक दलले सहमति, समन्वय र सुझाबुझपूर्णरुपमा काम गर्नुपर्नेमा जोड दिए ।
गणतन्त्र प्राप्तिपछि मुलुकका विभिन्न क्षेत्रमा सुरुङमार्गलगायत विकास निर्माणले तीव्रता पाएको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले भौतिक विकाससँगै नवीनतम प्रविधिको विकासले देश र संसारलाई जोडिरहेको बताए ।
उनले भने, ‘गणतन्त्रपछि शिक्षा र स्वास्थ्यका क्षेत्रमा विस्तार भएको छ । तर पनि गुणस्तरीय शिक्षामा भने हामीले जोड दिनुपर्नेछ । जनप्रतिनिधिको ध्यान त्यसमा हुनुपर्छ ।’ राजनीतिक व्यवस्थापनसँगै आर्थिक व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले द्वन्द्व भएको मुलुकमा आर्थिक व्यवस्था राम्रो भएन भने पुनरावृत्ति हुनसक्ने पाटोमा ध्यान पुर्याउनुपर्ने बताए ।
लोकतन्त्रको जहाज जस्तो चुनौतीका बाबजूद पनि परिपक्क ढङ्गले अघि बढिरहेको भन्दै पूर्वराष्ट्रपति यादवले लोकतान्त्रिक व्यवस्थामा हतारमा काम र छिटो परिणाम प्राप्त नहुने भएकाले राजनीतिक दलको दुरदर्शिताको खाँचो औँल्याए ।
पूर्वराष्ट्रपति यादवले भने, ‘गणतन्त्र प्राप्तिपछि आर्थिक पाटोमा धेरै गर्न नसके पनि भौतिक उपलब्धि भने धेरै भएको छ ।’


























































